‘अर्जुन ट्रफी’ को खेल तालिका सार्वजनिक

माघ १४, २०८१ | धनगढी

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुन गइरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । प्रतियोगितामा सहभागी हुने आठ टिमलाई दुई समूहमा विभाजन गर्दै बिहीबार तालिका सार्वजनिक गरिएको गो ड्रिमर्सले जनाएको छ । 

माघ १९ गतेदेखि सञ्चालन हुने प्रतियोगिताको समूह ‘ए’ मा डीसीए धनगढी, फेन्ड्स युवा क्लब डडेल्धुरा, घोडाघोडी–११ सुख्खड कैलाली र बोष्टन क्रिकेट झापा रहेका छन् । 

समूह ‘बी’ मा सीवाइसी अत्तरिया, बैतडीको दशरथ चन्द एकेडेमी, काठमाडौंको क्रिकेट एक्सिलेन्स सेन्टर र बुटबलको न्यू होराइजन रहेका छन् । प्रतियोगिता अन्तर्गत माघ १९ गते डीसीए धनगढी र फेन्ड्स युवा क्लब डडेल्धुराबीच उद्घाटन खेल हुने गो ड्रिमर्सका अध्यक्ष सुवाश शाहीले जानकारी दिए ।

उनका अनुसार माघ २६ गते पहिलो सेमिफाइनल, माघ २७ गते दोस्रो सेमिफाईनल र माघ २८ गते फाइनल खेल हुनेछन् । पहिलो सेमिफाईनल खेलमा समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेताबीच फाइनल प्रवेशका लागि खेल हुनेछ । 

दोस्रो सेमिफाइनलमा समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेता फाइनल प्रवेशका लागि खेल्नेछन् । प्रतियोगिताका सम्पूर्ण खेलहरु धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछन् । क्रिकेटका स्वर्गीय प्रशिक्षक अर्जुन खड्काको स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

अर्जुन ट्रफीमा झण्डै २० लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । रनिङ ट्रफीको रुपमा टी–२० फर्म्याटको प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले नगद पाँच लाख रुपैयाँसहित ट्रफी पाउने छन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०/५० हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाँ प्रदान गरिनेछ ।


प्रतिक्रिया