बुढासुब्बा गोल्डकपमा एनआरटी र यूके एफसी भिड्ने

माघ २४, २०८१ | सुनसरी

अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ । दोस्रो सेमिफाइनलमा न्यूरोड टिम एनआरटीले भारतको युनाइटेड खर्साङ फुटबल क्लबको सामना गर्नेछ । 

सुनसरीको धरान रंगशालामा हुने एनआरटी र युनाइटेड खर्साङबीचको खेल दिउँसो तीन बजे सुरु हुनेछ । साविक विजेता एनआरटीले मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३–१ गोलले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो । 

भारतको यूके एफसीले भने आयोजक धरान फुटबल क्लबलाई सडेन डेथमा ७–६ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

आजको खेलको विजेताको उपाधिका लागि चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ । यसअघि हिजो भएको पहिलो सेमिफाइनलमा भुटानको आरटीसी एफसीलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड बुढासुब्बा गोल्डकप फुटबलको फाइनलमा पुगेको थियो । 

फाइनल खेल यही माघ २६ गते हुनेछ । विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले नगद १ लाख रुपैयाँ पाउने र विधागत रुपमा उत्कृष्ट हुनेले जनही २५ हजार रुपैयाँ पाउने आयोजक धरान फुटबल क्लबले जनाएको छ । 


प्रतिक्रिया