शनिबार १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन हुने

फाल्गुन १, २०८१ | पोखरा
नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा पर्सि शनिबार पोखरामा १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन हुने भएको छ । ‘पोखरामा नियमित अन्तर्राष्ट्रिय हवाइ उडानको लागि दौडौं’ भन्ने नारासहित मञ्चले म्याराथनको आयोजना गर्न लागेको हो ।
हरेक वर्ष फागुनको पहिलो साताको शनिबार पोखरा म्याराथन आयोजना हुने तालिका अनुसार यस वर्ष फागुन ३ मा हुन लागेको हो । मञ्चले आज पोखरा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दिलबहादुर गुरुङले म्याराथनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।
उनका अनुसार यस वर्ष म्याराथनमा विभिन्न १४ विधामा प्रतिस्पर्धा हुनेछ । खुल्ला म्याराथनमा पहिलो हुने धावकले ५ लाख, दोस्रोले ३ लाख र तेस्रोले २ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । आयोजकले खुला म्याराथनतर्फ गण्डकी प्रदेशका धावकलाई प्रोत्साहन गर्न छुट्टै पुरस्कारको व्यवस्था गरेको छ । खुल्ला म्याराथनमा ८० विदेशीसहित १ सय ५० धावक सहभागी हुने बताइएको छ ।