मेयर कप छात्र/छात्रा फुटबल प्रतियोगिता सोमबारदेखि

फाल्गुन ५, २०८१ | तिलोत्तमा
रुपन्देहीको बुटवलमा सोमबारदेखि अन्तर विद्यालयस्तरीय दोस्रो मेयरकप छात्र/छात्रा फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । बुटवल उपमहानगरपालिकाले आइतबार पत्रकार सम्मेलन गरी दोस्रो मेयरकप छात्र/छात्रा फुटबल प्रतियोगिताबारे जानकारी गराएको हो ।
प्रतियोगिताको विजेताले छात्रतर्फ १ लाख र उपविजेता ६० हजार रुपैयाँ पुरस्कार पाउने नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले बताउनुभयो । छात्रातर्फ विजेताले ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ पाउने छन् ।
विधागत उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई समेत पुरस्कृत गरिने नगर खेलकुद विकास समितिका संयोजक पियाले जानकारी दिनुभयो । छात्रतर्फ २५ र छात्रातर्फ १० विद्यालयले भाग लिने छन् । फागुन १० गतेसम्म चल्ने प्रतियोगिता गर्न १८ लाख १५ हजार खर्च हुने पियाको भनाई छ ।
छात्राको यसपालि मात्र हुन लागेको हो । पियाले सामुदायिक विद्यालयमा खेल प्रशिक्षक नहुँदा विद्यार्थीले खेल्न चाहेर पनि नसेको बताउनुभयो । बुटवल उपमहानगर प्रमुख खेलराज पाण्ड्येले खेल पूर्वाधार र विकासमा फड्को मार्ने गरी उपमहानगरले लगानी गरेको बताउनुभयो ।
नगरभित्र धेरै नयाँ पूर्वाधार र पुराना खेल मैदानलाई मर्मतको काम गरी बुटवलमा ८ खेल मैदान तयार गर्न लागेको र रुपन्देहीको प्रतिष्ठित फुटबल तिलोत्तमा गोल्डकप गर्न ४० लाख रुपैयाँ विनियोजन गरेको उहाँले बताउनुभयो ।
प्रतियोगिता चारपाला खेल मैदान र जबई खेल मैदानमा गरी दुई स्थानमा हुनेछ । मेयर कप गत वर्ष अक्सफोर्ड माविले जितेको थियो ।