शीर्ष स्थानको लिभरपुललाई सात अंकको अग्रता

फाल्गुन ५, २०८१ | काठमाडौं
लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा सात अंकको अग्रता बनाएको छ । घरेलु मैदान एनफिल्ड स्टेडियममा गएराति भएको खेलमा पाहुना टोली वुल्भ्सलाई २–१ गोल अन्तरले पराजित गर्दै लिभरपुलले शीर्ष स्थानमा सात अंकको अग्रता कायम गरेको हो ।
लुइस डियाजले खेलको १५ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । खेलको ३७ औं मिनेटमा मोहम्मद सलाहले पेनाल्टी मार्फत गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । पहिलो हाफमा २ गोलले पछि परेको स्थिति उल्ट्याउँदै वुल्भ्सले दोस्रो हाफमा एक गोल फर्कायो ।
वुल्भ्सका स्ट्राइकर म्याथियस कुन्हाले ६७ औं मिनेटमा गोल गरेपनि त्यो जितका लागि पर्याप्त भएन । यो नतिजासँगै शीर्ष स्थानको लिभरपुलको २५ खेलबाट ६० अंक भएको छ ।
दोस्रो स्थानको आर्सनलले समान २५ खेलबाट ५३ अंक जोडेको छ । समान २५ खेल खेलेको नटिङ्घम फरेस्ट ४७ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ । पराजित वुल्भ्स भने १९ अंकका साथ तालिकाको १७ औं स्थानमा रह्यो ।
यस्तै, लिगको अर्को खेलमा टोटनह्यामले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । टोटनह्याम हटस्पर स्टेडियममा गएराति भएको खेलमा घरेलु टोलीले म्यान युनाइटेडलाई १–० गोलले हराएको हो । खेलको १३ औं मिनेटमा जेम्स म्याडिसनले गरेको एक मात्र गोल टोटनह्यामको जितका लागि पर्याप्त बन्यो ।
यो नतिजापछि टोटनह्याम २५ खेलबाट ३० अंकका साथ तालिकाको १२ औं स्थानमा उक्लिएको छ । समान २५ खेल खेलेको म्यान युनाइटेड भने २९ अंकका साथ १५ औं स्थानमा रह्यो ।