भद्रपुर झापा गोल्डकपः अयोजक भद्रपुर ब्लेजर्सको विजयी सुरुवात

फाल्गुन ७, २०८१ | काठमाडौं
दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगितामा अयोजक टोली भद्रपुर ब्लेजर्सले विजयी सुरुवात गरेको छ । भद्रपुरस्थित मेची रंगशाला आज भएको उद्घाटन खेलमा पाहुना टोली दार्जिलिङ पुलिस क्लबलाई ४–३ गोल अन्तरले पराजित गरेको हो ।
जितसँगै अयोजक टोली क्वाटर फाइनलमा प्रवेश गरेको छ । पहिलो हाफमा ३–० गोल अन्तरको अग्रता बनाएको भद्रपुर ब्लेजर्सलेले दोस्रो हाफमा थप एक गोल गर्यो । पहिलो हाफमा दबाबमा परेको दार्जिलिङ पुलिस क्लबले दोस्रो हाफमा ३ गोल सहित पुनारागमन गर्दै भद्रपुरमाथि दबाब बढाएपनि जित भने निकाल्न सकेन ।
प्रतियोगिता अन्तर्गत अब भोलि झापा ११ एफसी र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुने छ । गोल्डकपको विजेताले १३ लाख, उपविजेताले ७ लाख रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । गोल्डकप आयोजनाका लागि एक करोड ७८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।