फोर नेसन्स कपको उपाधिका लागि नेपालले म्यानमारको सामना गर्ने

फाल्गुन १४, २०८१ | काठमाडौं
चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि घरेलु टोली नेपालले म्यानमारको सामना गर्ने भएको छ । प्रतियोगितामा लिग चरणको समाप्तिमा शीर्ष दुई स्थानमा रहेर नेपाल र म्यानमार फाइनल पुगेको हो ।
अपराजित दुबै टोलीको समान ७ अंक रहेको छ । तर, गोल अन्तरका आधारमा म्यानमार अगाडि रह्यो । नेपालले आज जित्नैपर्ने दबाबबीच खेल्दै छ भने म्यानमारलाई राम्रो खेले पुग्नेछ । नेपाली महिला फुटबलले अहिलेसम्म १२ पल्ट फरक–फरक प्रतियोगिताको फाइनल खेलिसकेको छ । तर, सबै खेलमा उपविजेतामा सीमित रहँदै आएको छ ।
नेपाली महिला टिमले लगभग चार दशक लामो अन्तर्राष्ट्रिय फुटबलको इतिहासमा एउटै पनि उपाधि जित्न सकेको छैन । सोही दबाबका कारण पनि घरेलु टोली नेपाल उपाधि जित्ने लक्ष्यमा हुनेछ । नेपाल र म्यानमारबीचको उपाधि भिडन्त त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।
फाइनल खेलको पूर्वसन्ध्यामा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुवै टोलीले फाइनलका लागि तयार रहेको र उपाधि जित्ने दाबी गरेका छन् । नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले अहिलेसम्म सबैले राम्रो खेलेको र अब उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्ने बताइन् ।
यस्तै, नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले यसअघिका तीन खेल राम्रो भएको र फाइनलका लागि तयार भएको बताएका छन् । म्यानमारका प्रशिक्षक र कप्तानले पनि फाइनलका लागि तयार भएको बताए ।
नेपालले यसअघि कीर्गिस्तान र लेबननलाई पराजित गर्दै एक खेल अगावै फाइनलमा स्थान बनाएको थियो । लिग चरणको अन्तिम खेलमा भने घरेलु टोलीले म्यानमारसँग २–२ गोलको बराबरी खेलेको थियो । म्यानमार पनि लिग चरणमा लेबनान र कीर्गिस्तानलाई हराउँदै उपाधि नजिक पुगेको हो ।
प्रतियोगितामा सहभागी चार मध्ये म्यानमार सबैभन्दा बलियो टिम हो । फिफा वरीयतामा पनि म्यानमार ५५ र नेपाल १ सय ३ औँ स्थानमा छ । नेपालले म्यानमारलाई अहिलेसम्म पराजित गर्न सकेको छैन ।