बुटवलमा सर्वाधिक पुरस्कार राशिको राष्ट्रिय स्नूकर प्रतियोगिता सुरु

फाल्गुन १३, २०८१ | तिलोत्तमा

रुपन्देहीको बुटवलमा सर्वाधिक पुरस्कार राशिको स्नूकर प्रतियोगिता सुरु भएको छ । प्रथम अल नेपाल बुटवल मेयर कप ओपन स्नूकर प्रतियोगिताको सोमबार एक कार्यक्रमबीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नुभयो । 

उपमहानगर प्रमुख पाण्डेयले बुटवललाई शिक्षा, स्वास्थ्य र खेलकुदको हबको रुपमा विकास गर्ने उद्देश्यले उपमहानगरपालिकाले खेलकुदको क्षेत्रमा करोडौं रकम लगानी गरेको बताउनुभयो । 

राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन हुँदा देशभरबाट स्नूकर खेलाडीको सहभागीता हुने भएकाले खेलकुदको माध्यमबाट पर्यटन प्रवर्धनमा समेत टेवा पुग्ने उहाँले बताउनुभयो । नेपाल बिलियर्डस स्नूकर तथा पुल संघका केन्द्रीय अध्यक्ष सरोजकुमार मुल्मीले नेपालको स्नूकर खेलको इतिहासमै बुटवलको प्रतियोगिता सर्वाधिक पुरस्कार राशिको भएको उल्लेख गर्दै यसले खेलको उचाई थप माथि पुग्ने बताउनुभयो । 

काठमाडौंमा मात्रै हुँदै आएको राष्ट्रिय स्तरको प्रतियोगिता पछिल्लो समय बुटवल लगायत ठाउँमा पनि सुरु भएकाले यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान गर्ने उहाँको भनाई छ । प्रतियोगितामा देशका प्रमुख शहरबाट १ सय २८ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । फागुन २१ गतेसम्म चल्ने प्रतियोगिताको विजेता खेलाडीले ३ लाख ३ हजार, उपविजेताले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

यस्तै, हाइएस्ट ब्रेकरले ५५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजक नेपाल बिलियर्डस स्नूकर तथा पुल संघ रुपन्देहीका अध्यक्ष सुजन पुनले जानकारी दिनुभयो । सेमिफाइनलमा पुग्ने खेलाडीलाई नगद ३०÷३० हजार, राईजिङ स्टार र अनुशासित खेलाडीलाई स्नूकर स्टिकबाट पुरस्कृत गरिने उहाँको भनाई छ ।


प्रतिक्रिया