केपी ओली कप फुटबलः उपाधिकालागि मच्छिन्द्र र आर्मी क्लब खेल्ने

फाल्गुन १७, २०८१ | काठमाडौं

केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिकालागि डिफेन्डीङ च्याम्पियन टोली मच्छिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । 

दोस्रो सेमिफाइनलमा आज आयोजक केपी एफसीलाई ४–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले फाइनलमा स्थान बनाएको हो । पहिलो हाफमा १–० को अग्रता बनाएको मच्छिन्द्रले दोस्रो हाफमा थप चार गोल गर्दै सहज जित सहित उपाधिका लागि आर्मीसँगको भेट पक्का गरेको हो । 

मच्छिन्द्रका लागि मनिष डाँगीले ३९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ५० औं मिनेटमा रोशन रानाले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ८५ औं मिनेटमा विदेशी खेलाडी स्टेफन जालीले पेनाल्टी मार्फत गोल गर्दा ९० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्न सफल भए ।

फाइनलमा पुगिसकेको आर्मीले हिजो पहिलो सेमिफाइनलमा संकटा क्लबलाई २–१ गोलले पराजित गरेको थियो । दुई टोलीबीचको फाइनल खेल पर्सि सोमबार हुनेछ । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।


प्रतिक्रिया