पीएम कप क्रिकेटः पुलिस क्लबको लगातार तेस्रो जित

चैत्र १, २०८१ | काठमाडौं

नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको छ । विभागीय डर्बीमा आज भएको खेलमा एपीएफ क्लबलाई २ विकेटले पराजित गर्दै पुलिसले आफ्नो अपराजित यात्रा कायमै राखेको हो । ९५ रनको लक्ष्य पुलिसले २६ ओभर २ बलमा ८ विकेट गुमाएर पूरा गर्यो ।

 पुलिसको जितमा ओपनर कुशल भुर्तेलले सर्वाधिक ३१ रन जोडे । एपीएफका भुवन कार्कीले ३, कप्तान रोहित पौडेल र अभिषेक गौतमले समान २ तथा कमलसिंह ऐरीले १ विकेट लिए । त्यसअघि दाङको लमहिस्थित देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २७ ओभर ४ बलमा ९४ रन बनाएको थियो । 

एपीएफका लागि सन्दीप जोराले २६ रन जोडे । पुलिसका स्पिनर ललितनारायण राजवंशीले ६ विकेट लिए । जितसँगै पुलिस ६ अंकका साथ दोस्रो स्थानमा छ । पुलिसले पहिलो खेलमा लुम्बिनी र दोस्रो खेलमा कोशीलाई पराजित गरेको थियो ।  


प्रतिक्रिया