उपाधिका लागि आयोजक काँकडभिट्टा र चर्च ब्वाइज भिड्दै

चैत्र २, २०८१ | झापा
मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको पाँचौं संस्करणको उपाधि भिडन्त आज हुने भएको छ । उपाधिका लागि आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।
झापाको मेचीनगरस्थित काँकडभिट्टा मैदानमा हुने खेल दिउँसो २ बजेपछि सुरु हुनेछ । फाइनलको पूर्वसन्ध्यामा आयोजित प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीका कप्तान र प्रशिक्षकले आफूहरु पहिलो पटक च्याम्पियन बन्ने दाउमा रहेको बताए ।
आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर घरेलु समर्थकको साथ घरमै उपाधि राख्ने योजनामा छ । पहिलो पटक फाइनलमा स्थान बनाएको आयोजक उपाधि जित्ने दाउमा छ । प्रशिक्षक मुन्ना सुब्बाले घरमै उपाधि राख्न तयार आतुर रहेको बताए ।
यता चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले फाइनल जित्ने दाबी गर्दै फाइनलअघि एक दिन विश्राम पाउँदा टिमलाई सहज भएको बताए । झापा जिल्ला फुटबल संघ र मेचीनगर खेलकुद विकास समितिको प्राविधिक सहयोगमा आयोजित प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
सर्वोकृष्ट खेलाडीले ५१ हजार, उच्च गोलकर्ताले २५ हजार तथा उत्कृष्ट गोलकिपर र प्रशिक्षकले समान २१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । उदीयमान खेलाडीलाई १५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।