पाँचथर गोल्डकपको उपाधिका लागि मच्छिन्द्र र नमोबुद्व भिड्दै

चैत्र २, २०८१ | पाँचथर

पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको पाँचौं संस्करणको उपाधिका लागि मच्छिन्द्र एफसी र सप्तरीको नमोबुद्व फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । उपाधिका लागि फिदिम माविको मैदानमा दिउँसो साढे २ बजे मच्छिन्द्र र नमोबुद्व फुटबल क्लब आमनेसामने हुनेछन् । 

मच्छिन्द्रले सेमिफाइनलमा मोरङको इन्ट्रा पथरी फुटबल क्लबलाई हराएर उपाधि यात्रा तय गरेको थियो । नमोबुद्वले भने ‘ए’ डिभिजन क्लब चर्च ब्वाइजलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । फाइनलको पूर्वसन्ध्यामा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुवै टिमका कप्तानले उपाधि रक्षा गर्ने दाबी गरेका छन् । 

मछिन्द्रका प्रशिक्षक सबिन अधिकारीले मोफसलको टिम भए पनि सप्तरीसँग युवा खेलाडीको गर्विलो उपस्थिति रहेकाले आफूहरुले धेरै मिहिनेत गर्नुपर्ने बताए । 

यता नमोबुद्वका प्रशिक्षक सुरेश लामाले आफूहरुसँग मोफसलका मैदानमा पर्याप्त अनुभव भएका युवा र अनुभवी खेलाडी रहेकाले उपाधि जित्ने विश्वास व्यक्त गरे । 

क्वाटरफाइनलमा ए डिजिभनकै हिमालयन शेर्पा र सेमिफाइनलमा चर्च ब्वाइजलाई हराउन सक्नु नै आफूहरुको खेल जित्ने दर्बिलो आधार बनेको उनको दाबी थियो । 

पाँचौं पाँचथर गोल्डकपको उपाधि विजेताले ११ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने आयोजक पाँचथर क्लबले जनाएको छ । 


प्रतिक्रिया