बुढासुब्बा गोल्डकपमा आयोजकलाई ६ लाख बढी नाफा

चैत्र ३, २०८१ | सुनसरी

 २५ औँ संस्करणको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आयोजकलाई ६ लाख ६० हजार रुपैयाँ नाफा भएको छ ।

आयोजक धरान फुटबल क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै गोल्डकपको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको आयव्यय अनुसार गोल्डकपलाई भुक्तानी हुन अझै १५ लाख रुपैयाँ बाँकी रहेकाले नाफा अझै बढ्ने क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिनुभयो ।

प्रतियोगितामा ६६ लाख ९९ हजार १ सय ५० रुपैयाँ आम्दानी भएको र ६० लाख ४० हजार १ सय रुपैयाँ खर्च भएको आयोजकले जनाएको हो । धरान उपमहानगरपालिकाका सबै वडा कार्यलयहरुबाट ७ लाख, अखिल नेपाल फुटबल संघ एन्फाबाट ५ लाख र राष्ट्रिय खेलकुद परिषद्बाट ३ लाख गरी १५ लाख रुपैयाँ सहयोग रकम उठ्न बाँकी रहेकोले सो रकम उठेपछी २१ लख ६० हजार रुपैयाँ बचत हुने अध्यक्ष तामाङको भनाइ छ ।

प्रतियोगिता सम्पन्न गर्न विदेशमा रहेका धरानका स्थानीयले विभिन्न संघ संस्थाहरुबाट २० लाख रुपैयाँ सहयोग प्राप्त भएको क्लबले जनाएको छ । धरान उपमहानगरपालिकाको कार्यलयबाट ९ लाख र कोशी प्रदेश खेलकुद विकास बोर्डबाट ५ लाख रुपैयाँ सहयोग प्राप्त भएको अध्यक्ष तामाङले बताउनुभयो । गत संस्करणमा क्लबलाई १७ लाख रुपैयाँ बढी नाफा भएको थियो ।

माघ २४ देखी २६ गतेसम्म भएको गोल्डकपको उपाधी न्युरोड टिम एनआरटीले जित्दै नगद १० लाख रुपैयाँ हात पार्दा उपबिजेता चर्च ब्वाइज युनाइटेडले ५ लाख रुपैयाँ पाएको थियो । 


प्रतिक्रिया