नव जनजागृति जीतपुर सिमरा गोल्डकपको सेमिफाइनलमा

चैत्र २४, २०८१ | बारा
आयोजक नव जनजागृति युवा क्लब बारामा १५ औं जितपुर सिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मोहित गुरुङको निर्णायक गोलको मद्दतमा नव जनजागृतिले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
सिमरास्थित मैदानमा शनिबार साँझ भएको खेलमा नव जनजागृतिले मकवानपुर जिल्ला फुटबल संघलाई १–० गोलले पराजित गर्यो । मोहितले ८५ औं मिनटमा गोल गर्न सफल भएका थिए ।
कर्नर एरियाबाट मोहितले प्रहार गरेको बल सिधै गोलमा परिणत भएको थियो । हेटौंडाका गोल रक्षक टोपबहादुर रानाले बचाउको लागि कुनै चाल नै पाएनन् । दर्शकको समर्थन पाएको आयोजक सिमराले आकर्षक अवसरहरु बनाए पनि मकवानपुरको एन्फाविरुद्ध जित निकाल्न अन्तिमसम्मै संघर्ष गर्नु परेको थियो ।
पहिलो हाफमा मकवानपुरले आयोजकविरुद्ध सुरुवाती अग्रता बनाउने सुन्दर अवसर गुमाएको थियो । खेलको म्यान अफ दी म्याच आयोजक सिमराका मोहित गुरुङ भए । उनले नगद १० हजार रुपैयाँ र ट्रफी प्राप्त गरे ।
उनलाई ओमनी मोटर्सका दिलिप हमाल र ग्रिन इनर्जीका शैलेश साहले ट्रफी प्रदान गरे । आइतबार साविक विजेता नेपाल पुलिस क्लब र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।