लुम्बिनी मुख्यमन्त्री कप महिला भलिबलको उपाधि पाल्पालाई

चैत्र २४, २०८१ | दाङ
घोराहीमा सम्पन्न मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिता–२०८१ को उपाधि पाल्पाले जितेको छ । शनिबार भएको फाईनल खेलमा पाल्पाले रुपन्देहीलाई ३–२ को सेटमा हराउँदै उपाधि हात पारेको हो ।
प्रदेश खेलकुद परिषद, लुम्बिनीको आयोजनामा फागुन २० गतेदेखि घोराही-१५ सहिद मञ्चमा भएको प्रतियोगिता अन्तरगत उपाधि भिडन्तमा पाल्पाले १९–२५, २५–२१, २५–१७, २५–२० र १५–८ अंकका साथ उपाधि हात पारेको हो । उल्लेख्य दर्शकको उपस्थितीमा भएको फाईनल खेलमा पाँच सेटको खेलबाट नतिजा निस्किँदा खेलाडीले पनि आफ्नो खेल कौशल प्रस्तुत गरे ।
निकै प्रतिष्पर्धात्मक खेलमा समूह ‘बी’ बाट लिग चरण खेल जित्दै पाल्पाले प्रतियोगितामा अपराजित रुपमा उपाधि हात पार्दा समूह ‘डी’ मा रहेको रुपन्देही पनि उपाधि नजिक पुगेर अपराजित यात्रामा बिश्राम लगाउँदै उपविजेतामा चित्त बुझाएको छ । प्रतियोगिताको उपाधि जितेको पाल्पाले नगद एक लाखसहित शिल्ड, मेडल र प्रमाण–पत्र पाएको छ । उपविजेता बनेको रुपन्देहीले नगद ६५ हजार, शिल्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पाल्पाकी कप्तान जीना राना घोषित भएकी छिन् । जीनाले पाल्पालाई उपाधि दिलाउन उत्कृष्ट खेल पस्किन् । उनले नगद १० हजारसहित प्रमाण पत्र प्राप्त गरेकी छिन् । प्रतियोगिता भर खेलेको खेलका आधारमा विधागत रुपमा उत्कृष्ट भएका खेलाडीलाई नगदसहित पुरस्कृत गरिएको हो ।
प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडी छनोट हुँदा पाल्पाकी कप्तान थापासहित चार जना पुरस्कृत हुन सफल भएका छन् । उत्कृष्ट सर्बरमा पाल्पाकी दुमीसरा थारु, उत्कृष्ट डिफेन्समा पाल्पाकी दुर्गासरा गाहा र उत्कृष्ट ब्लकरमा पाल्पाकी बिनिता राना घोषित भए । तीन जनालाई जनही नगद पाँच हजारसहित प्रमाण पत्र प्रदान गरिएको छ ।
यसैगरी, प्रतियोगिताको उत्कृष्ट सेटरमा दाङकी सीता बिक र उत्कृष्ट स्पाईकरमा रुपन्देहीकी रीचा थापा घोषित भए । उनीहरुलाई पनि नगद पाँच हजारसहित प्रमाण पत्र प्रदान गरिएको छ ।
यसअघि तेस्रो स्थानका लागि शनिबार नै भएको खेलमा बाँकेलाई ३–१ सेटले हराउँदै रोल्पा तेस्रो भएको छ भने बाँके सान्त्वना भएको छ । रोल्पाले बाँकेलाई २५–२३, २५–९, २४–२६ र २५–१८ अंकका साथ हराउँदै प्रतियोगिताको तेस्रो भएको हो ।
यसअघि, पहिलो सेमिफाइनलमा रोल्पा जिल्ला पाल्पासँग ३–१ को सेटमा पराजित भएको थियो भने दोसो सेमिफाइनलमा बाँके जिल्ला रुपन्देहीसँग ३–२ को सेटमा पराजित भएको थियो । समूह ‘सी’ बाट खेलेको बाँकेले प्युठान, कपिलवस्तु, रुकुम पूर्वलाई हराउँदै सेमिफाइनल पुगेको थियो भने समूह ‘ए’ बाट खेलेको रोल्पाले रुकुमपूर्व, गुल्मी र कपिलवस्तुलाई जित्दै सेमिफाइनल पुगेको थियो ।
तृतीय भएको रोल्पाले नगद ३५ हजारसहित मेडल, ट्रफी र प्रमाण–पत्र पाउँदा सान्त्वना भएको बाँकेले नगद १५ हजार प्रमाण–पत्र प्राप्त प्राप्त गरेको छ ।
प्रतियोगितामा दाङसहित लुम्बिनीका १२ वटै जिल्लाबाट महिला भलिबल खेलाडी सहभागी भएका प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरन गौतमले जानकारी दिए । प्रदेशमा दक्ष महिला खेलाडी उत्पादन गर्न र भलिबलको विकासका लागि प्रदेश स्तरीय प्रतियोगिता आयोजना गरिएकोमा यसबाट राम्रो सम्भावना भएका खेलाडी देखा परेको गौतमले बताए ।
घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले प्रतियोगितामा विजेता तथा उपविजेता टीमका खेलाडीलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका थिए ।