नेपालले कतारलाई ८ विकेटले पराजित गर्यो

चैत्र २७, २०८१ | काठमाडौं
हङकङमा आजदेखि सुरु भएको टी–२० आई सिरिज क्रिकेटको पहिलो खेलमा नेपालले कतारलाई पराजित गरेको छ । मिसन रोड ग्राउण्डमा भएको खेलमा नेपालले कतारलाई ८ विकेटले हराएको हो ।
जितका लागि कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा मात्र दुई विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए । उनले १९ बलमा चार चौका र तीन छक्का प्रहार गरे ।
यस्तै कप्तान रोहित पौडेलले नटआउट ३७ रन बनाउँदा ओपनर आशिफ शेखले ३३ रन बनाए । बसिर अहमदले नटआउट ३० रनको योगदान गरे । कतारका लागि मुजिब उर रहमानले दुई विकेट लिए ।
त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कतारले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १५१ रनको योगफल बनाएको थियो । कतारका लागि कप्तान इक्रमुल्लाह खानले सर्वाधिक ५४ रनको योगदान दिए ।
शाहजीब जमिलले ३१ रन बनाउँदा मुजिब उर रहमानले नटआउट २० बनाए । नेपालका लागि करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्शन झा र ललित राजवंशीले समान १÷१ विकेट लिए ।