जितपुर सिमरा गोल्डकपको उपाधि हिमालयन शेर्पालाई

चैत्र ३०, २०८१ | बारा
हिमालयन शेर्पा क्लबले १५ औं संस्करणको जितपुर सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा शुक्रबार राति सम्पन्न खेलमा मच्छिन्द्र फुटबल क्लबलाई ४–१ गोलले पराजित गर्दै हिमालयन शेर्पा च्याम्पियन बनेको हो ।
हिमालयन शेर्पाले दोस्रो पटक जितपुर सिमरा गोल्डकपको उपाधि जितेको हो । शेर्पाले यसअघि दोस्रो संस्करणको उपाधि जितेको थियो । उपाधि विजेता हिमालयन शेर्पाले १० लाख रुपैयाँ र उपविजेता मच्छिन्द्रले ५ लाख रुपैयाँ प्राप्त गरेको हो ।
यसअघि गत १४ औं संस्करणको फाइनलमा पनि मच्छिन्द्र उपविजेतामै सीमित भएको थियो । हिमालयन शेर्पाका लागि कप्तान विश्वास श्रेष्ठले दुई तथा रोबर्ट खोङजो र समिरराज थोकरले समान १–१ गोल गरेका थिए । मच्छिन्द्रका लागि रञ्जन पुनले सान्त्वना गोल फर्काए ।
हिमालयन शेर्पाले खेलको तेस्रो मिनेटमा कप्तान विश्वास श्रेष्ठको गोल मार्फत अग्रता लिएको थियो । २७ औं मिनटमा मच्छिन्द्रका लागि रञ्जन पुनले बराबरी गोल फर्काए । समिरराज थोकरले २९ औं मिनटमा रोबर्टको क्रस पासलाई गोलमा परिणत गर्दै हिमालयन शेर्पालाई २–१ को अग्रता दिलाए ।
पहिलो हाफको अतिरिक्त समयमा हिमालयनका रोबर्ट खोङजोले अर्को गोल थपे । पहिलो हाफमा ३–१ ले पछि परेको मच्छिन्द्र दोस्रो हाफमा सम्हालिन नपाउँदै १० खेलाडीमा सीमित बन्यो ।
मच्छिन्द्रका गोलरक्षक विशाल सुनार रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । हिमालयन शेर्पाका रोबर्ट खोङजोलाई लडाई दिएपछि रेफ्री नविन्द्र महर्जनले सिधैं रातो कार्ड दिएका थिए । हिमालयन शेर्पाले पाएको पेनाल्टीमा कप्तान विश्वास श्रेष्ठले गोल गर्दै ४–१ को फराकिलो अन्तर निकाल्न सफल भएका थिए ।
हिमालयन शेर्पाका अमित तामाङ ग्रीन इनर्जी म्यान अफ दी म्याच घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । मच्छिन्द्र फुटबल क्लबका रोबर्ट खोङजो भिएक्सएल एजुकेशन प्लयेर अफ दी टुर्नामेन्ट घोषित भए । उनले इलेक्ट्रिक स्कूटर प्राप्त गरे । उच्च गोलकर्ताको पुरस्कार पनि रोबर्टले नै पाए ।
रोबर्टले प्रतियोगितामा सर्वाधिक ३ गोल गरेका थिए । क्वाटरफाइनल र सेमिफाइनलमा १–१ गोल गर्दै दुबै खेलको म्यान अफ दी म्याच जितेका रोबर्टले फाइनल खेलमा थप एक गोल गर्दै २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । उत्कृष्ट गोलरक्षक हिमालयन शेर्पाका विवश चौधरी र उत्कृष्ट प्रशिक्षक हिमालयन शेर्पाका प्रज्वल प्रताप क्षेत्री घोषित भए । उनीहरु दुबैले जनही २५ हजार रुपैयाँ प्राप्त गरे ।
उदीयमान स्थानीय खेलाडीलाई प्रदान गरिने इमर्जिङ प्लेयरको अवार्ड घरेलु टिम आयोजक नव जनजागृति सिमराका सेरब लो तामाङले पाए । उनले १५ हजार राशीको सो पुरस्कार पाएका हुन् । सो पुरस्कार हाल अस्ट्रेलियामा रहेका फुटबल खेलाडी रवि पासवानले प्रायोजन गरेका थिए ।
फेयर प्लेको ट्रफी सलहेश युवा क्लबलाई प्रदान गरिएको छ । विजेता तथा उपविजेता टिम र खेलाडीलाई पूर्वमन्त्री तथा बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ, मधेश सरकारका खेलकुद मन्त्री प्रमोद जयसवाल लगायतले पुरस्कार प्रदान गरेका थिए ।