पुलिस लुम्बिनी कप महिला फुटबलको सेमिफाइनलमा प्रवेश

वैशाख ७, २०८२ | नेपालगञ्ज

विभागीय नेपाल पुलिस क्लबले लुम्बिनी कप आमन्त्रण महिला फुटबल प्रतियोगितामा भारतको सिलिगुढी क्लबलाई पराजित गरेको छ । नेपालगञ्ज रंगशालामा शनिबार भएको खेलमा पुलिसले भारतको सिलगुढी एफसीविरुद्ध ४–० को शानदार जित निकालेको हो । 

यो जितपछि पुलिस क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पुलिसले पहिलो हाफमै चार गोल गरेको थियो । पुलिसको जितमा निर्मला उपाध्यायले दुई गोल गरिन् । 

मिना देउवा र कप्तान निरु थापाले एक–एक गोल गरे । खेलको ‘प्लेयर अफ द म्याच’ निर्मला घोषित भइन् । अब पुलिसले फाइनल प्रवेशको लागि वैशाख ९ गते अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।

आर्मीले उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश फुटबल संघलाई ४–० गोलले नै पराजित गरेको थियो । आइतबार घरेलु टोली बाँके ११ र रौतहट जिल्ला फुटबल संघबीच प्रतिस्पर्धा हुनेछ । 

शुक्रबार राष्ट्रिय महिला टोलीका खेलाडीसहित उत्रिएको त्रिभुवन आर्मी क्लबले लुम्बिनी कप आमन्त्रण महिला फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको थियो । 

प्रतियोगिता विजेताले ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । बाँके जिल्ला फुटबल संघको समन्वयमा अन्तरालले आयोजना गरेको प्रतियोगितामा तीन विभागीय सहित आठ टिमले भाग लिएका छन् । 


प्रतिक्रिया