एपीएफलाई लुम्बिनी कप महिला फुटबलको उपाधि

वैशाख १३, २०८२ | नेपालगञ्ज
पहिलो लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले उचालेको छ । नेपालगञ्ज रंगशालामा हिजो साँझ भएको फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोलले हराउँदै एपीएफ क्लबले उपाधि हात पारेको हो ।
प्रतिस्पर्धात्मक फाइनलमा एपीएफले पुलिसलाई अन्तिम समयमा स्तब्ध बनाएको हो । एपीएफका लागि अन्तिम मिनेटमा गीता रानाले गरेको गोल निर्णायक गोल बन्यो । उनी नै प्लेयर अफ द म्याच भइन् ।
एपीएफले रौतहट फुटबल संघको टोली र पुलिसले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । उपाधिसँगै एपीएफले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार हात पार्दै ट्रफी उचालेको छ ।
उपविजेता पुलिसले २ लाख ५० हजारमा चित्त बुझायो । प्रतियोगिताको उत्कृष्ट खेलाडी एपीएफकी कप्तान अनिता बस्नेत घोषित हुँदै २५ हजार प्राप्त गरिन् ।
प्रतियोगितामा उत्कृष्ट गोलकिपर पुलिसकी उषा नाथ, उत्कृष्ट डिफेन्डर एपीएफकी गीता राना, मिडफिल्डतर्फ एपीएफकै सरु लिम्बू, स्ट्राइकर एपीएफकी अनिता केसी र उत्कृष्ट प्रशिक्षक पनि एपीएफकै भगवती थापा घोषित भए ।
उनीहरुले जनही १० हजार रुपैयाँ प्राप्त गरे । बाँके जिल्ला फुटबल संघसँगको सहकार्यमा अन्तरालले आयोजना गरेको प्रतियोगितामा ८ वटा टिमको सहभागिता थियो ।
घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, सिलिगुडी फुटबल क्लब, रौतहट जिल्ला फुटबल संघ टिमको सहभागिता थियो ।