राष्ट्रिय महिला गोल्डकपमा चितवनको विजयी सुरुवात

वैशाख २०, २०८२ | मकवानपुर

राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोेगितामा मकवानपुरलाई टाइबेकरमा हराउँदै चितवनले विजयी सुरुवात गरेको छ । हेटौंडा उपमहानगरपालिका–६ स्थित गौरीटार रंगशालामा शुक्रबार भएको उद्घाटन खेलमा आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै चितवनले विजयी सुरुवात गरेको हो । 

निर्धारित समयको खेलमा एक÷एक गोलको बराबरी भएपछि टाइब्रेकर मार्फत निर्णय लिइएको हो । चितवनले ५–४ को जित निकाल्दै अघिल्लो चरणमा स्थान बनाएको हो । पहिलो हाफ गोलरहित बराबरी भएकोमा चितवनले दोस्रो हाफको केहीबेरमै अग्रता लिएको थियो ।

चितवनका लागि अनिता गुरुङले हेडमार्फत गोल गरेकी हुन् । मकवानपुरका डिफेण्डरले चितवनका खेलाडीलाई लडाएपछि पाएको फ्रिकिक बललाई उनले हेड गर्दै पोष्टको दिशा दिएकी हुन् । त्यसको केहीबेरमै मकवानपुर १० खेलाडीमा झरेको थियो । 

मकवानपुरका खुसाना राईले चितवनको गोलरक्षक सुजता तामाङलाई फाउल गरेपछि रेफ्रीले राईलाई रातो कार्ड दिएका थिए । खेलको अन्तिम मिनेटमा मकवानपुरका लागि सजिना स्याङ्तानले गोल गर्दै एक÷एकको बराबरीमा ल्याएकी थिइन् । त्यसपश्चात खेल टाइब्रेकरमा पुगेको थियो । 

खेलको म्यान अफ द म्याच चितवनका अनिता गुरुङ घोषित भइन् । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरिन् । जारी प्रतियोगितामा शनिबार बाराको नवजनजागृति क्लब सिमरा र संकटा क्लबको खेल हुनेछ । 

छैठौं संस्करणसम्म पुरुष गोल्डकप प्रतियोगिताको आयोजना गरेको फुटबल संघ मकवानपुरले यसवर्ष महिला गोल्डकप गरेको हो । प्रतियोगितामा २ विभागीय टोली, एउटा ए डिभिजन टोली र ५ वटा जिल्ला गरी ८ टिमको सहभागिता रहेको छ । 

प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस र सशस्त्र प्रहरीको एपीएफसहित संकटा क्लव तथा मकवानपुर, चितवन, सर्लाही, रौतहट र बारा जिल्लाको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् भने सर्वोत्कृष्ट खेलाडीले स्कूटर प्राप्त गर्नेछन् । 

विधागत उत्कृष्टलाई समेत नगदसहित ट्रफीको व्यवस्था गरिएको छ । हरेक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

महिला गोल्डकपको मुख्य प्रायोजक हेटौंडा उपमहानगरपालिका तथा प्रायोजकमा बागमती प्रदेश खेलकुद विकास परिषद्, भीमफेदी गाउँपालिका, कैलाश गाउँपालिका लगायत स्थानीय संघ संस्था रहेका छन् । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले गोल्डकपको उद्घाटन गर्नु भएको हो । 


प्रतिक्रिया