नेपाल पुलिस क्लब महिला गोल्डकपको फाइनलमा

वैशाख २३, २०८२ | मकवानपुर

विभागीय नेपाल पुलिस क्लब हेटौंडामा जारी राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । हेटौंडा–६ स्थित गौरीटार रंगशालामा मंगलबार भएको पहिलो सेमिफाइनलमा चितवन जिल्ला फुटबल संघलाई ७–० गोलले पराजित गर्दै विभागीय टोली पुलिस उपाधि नजिक पुगेको हो । 

पुलिसको जितमा मिना देउवा र निर्मा उपाध्यायले ह्याट्रिक गरिन् । देउवाले खेलको २१ औं, ४० औं र ५९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । उपाध्यायले भने खेलको ३४, ६६ र ८० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् । 

पुलिसको लागि अर्को एक गोल ४५ औं मिनेटमा सुश्मा तामाङले गरिन् । देउवा प्लेयर अफ दी म्याच घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् । 

यसअघि पुलिसले रौतहट जिल्ला फुटबल संघको टोलीलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । चितवनले पनि मकवानपुरलाई टाइब्रेकरमै पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो । 

पुलिसले अब उपाधिका लागि विभागीय टोली प्रहरी बलको एपीएफ र संकटा क्लबबीचको विजेतासँग भिड्नेछन् । 

एपीएफ र संकटाबीचको सेमिफाइनल खेल मंगलबार नै दिउँसो साढे ३ बजे सुरु हुनेछ । फाइनल खेल बिहीबार हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सर्वोत्कृष्ट खेलाडीलाई स्कूटर प्रदान गरिने आयोजक मकवानपुर फुटबल संघले जनाएको छ ।


प्रतिक्रिया