राजन र एरिका बागमती प्रदेशका वर्ष खेलाडी घोषित

जेष्ठ ४, २०८२ | मकवानपुर
खोखोका राजन बल र कराँतेकी एरिका गुरुङ बागमती प्रदेशका वर्ष खेलाडी घोषित भएका छन् । बागमती प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रालयले हेटौंडा–४स्थित हुप्राचौरमा खोखोका बललाई सर्वोत्कृष्ट पुरुष र कराँतेकी गुरुङलाई सर्वोत्कृष्ट महिला वर्ष खेलाडीको रुपमा सम्मानित गरिएको हो । मन्त्रालयले विभिन्न आठ विधाका १२ जनालाई बागमती प्रदेश स्पोर्टस् अवार्ड प्रदान गरेको हो । एथ्लेटिक्सका जीतबहादुर केसी र बैकुण्ठ मानन्धर लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ । पारा तेक्वान्दोका कविराज नेगी उत्कृष्ट प्रशिक्षक र पत्रकार श्याम चित्राकार उत्कृष्ट पत्रकारबाट सम्मानित भए ।
फुटबलका आयुष घलान, भलिबलकी सलिना श्रेष्ठ र एथ्लेटिक्सका सन्तोषी श्रेष्ठ लोकप्रिय खेलाडीबाट सम्मानित भए । तेक्वान्दोकी संगिता वैद्य बागमतीको शान, पारा तेक्वान्दोकी परमेशा गोवद्र्धन उत्कृष्ट पारा तेक्वान्दो खेलाडी, गल्फका सद्भाव आचार्य युवा खेलाडी र ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन उत्कृष्ट जिल्ला खेलकुद विकास समिति अध्यक्षबाट सम्मानित भए । लाइफ टाइम एचिभमेन्ट, उत्कृष्ट महिला र पुरुष, बागमतीको सान र उत्कृष्ट प्रशिक्षकलाई जनही समान एक लाख र अरु विधाका खेलाडी र पत्रकारलाई जनही ५० हजार रुपैयाँसहित अवार्ड र सम्मानपत्र प्रदान गरिएको थियो । खेलाडीहरुलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यका साथ प्रदेश सरकारले पहिलो पटक अवार्डको आयोजना गरेको युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले बताए ।