एनभीए भलिबल लिगमा न्यू डायमन्डको तेस्रो जित

जेष्ठ ११, २०८२ | पोखरा
पोखरामा जारी एनभीए भलिबल लिगमा महिलातर्फ टिपटप न्यू डायमन्ड युथ स्पोर्टस क्लबले लगातार तेस्रो जित हासिल गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा न्यू डायमन्डले विभागीय टोली त्रिभुवन आर्मी ३–१ सेटमा पराजित गरेको हो ।
पहिलो सेट २१–२५ ले गुमाएपनि त्यसपछि न्यू डायमन्डले पुनरागमन जित निकालेको हो । बाँकी सेट न्यू डायमन्ड २५–१४ र २५–२१ र २५–२१ ले खेल आफ्नो पक्षमा पारेको हो ।
लगातार तेस्रो जितपछि ९ अंकसहित न्यू डायमण्ड तालिकाको शीर्ष स्थानमा उक्लेको छ । आर्मीको भने यो लगातार तेस्रो हार हो । लगातारको हारपछि विभागीय टोली आर्मीको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ ।
महिलातर्फकै अर्को खेलमा अहिले साविक विजेता नेपाल पुलिस क्लब र नेपाल एमीएफ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ । पुरुषतर्फ आज चार खेल हुनेछन् । नेपाल भलिबल संघको आयोजनामा जेठ १५ गतेसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगितामा विजेता पुरुष तथा महिला दुवै टिमले ८ लाख र उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो हुने टिमलाई २ लाख रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
लिगका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।