आर्सनललाई महिला च्याम्पियन्स लिगको उपाधि

जेष्ठ ११, २०८२ | काठमाडौं
बार्सिलोनालाई पराजित गर्दै आर्सनलले यूइएफए महिला च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । आर्सनलले युरोपेली दिग्गज बार्सिलोनालाई स्तब्ध पार्दै १८ वर्षपछि पहिलो पटक महिला च्याम्पियन्स लिगको उपाधि जितेको हो ।
लिस्बनमा गएराति भएको फाइनलमा आर्सनलले बार्सिलोनालाई १–० गोलले हराएको हो । खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । खेलमा बार्सिलोनाले गोलको अवसर पाए पनि सदुपयोग गर्न सकेन ।
आर्सनलको जितमा खेलको ७४ औं मिनेटमा स्टिना ब्ल्याक–स्टेनियसले गरेको एक मात्र गोल निर्णायक बन्यो । आर्सनल अन्डर डग टिमका रुपमा मैदान उत्रिएको थियो ।
आर्सनलको यो दोस्रो च्याम्पियन्स लिग उपाधि हो । बार्सिलोना भने पछिल्लो चार सिजनमा तीन पटक विजेता बनेको थियो ।
दुई पटकका बालोन डी’ओर विजेता आइताना बोनमाटी र एलेक्सिया पुटेलास सहितको बार्सिलोनाले हालैका वर्षमा क्लब फुटबलमा प्रभुत्व जमाएको छ तर लिस्बनमा भएको रोमाञ्चक फाइनलमा आफ्नो छाप छोड्न संघर्ष गर्नुपरेको थियो ।