दाङविरुद्ध रुपन्देही ६२ रनले विजयी

जेष्ठ १७, २०८२ | तिलोत्तमा

लक्ष्मण कुमालको उत्कृष्ट बलिङमा रुपन्देहीले लीला सेन्चुरी मेमोरियल यू–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा दाङ ६२ रनले पराजित गरेको छ । 

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा शुत्रबार भएको छनोट प्रतियोगिताको फाइनलमा घरेलु टोली रुपन्देहीले दिएको १३२ रनको लक्ष्य पछ्याएको दाङले २२.१ ओभरमा सबै विकेट गुमाएर ६९ रन मात्र बनाउन सक्यो । 

दाङकाअभिजित भण्डारीले सर्वाधिक १८ र शुभम् खनालले १४ रन बनाए । अन्य खेलाडीको प्रदर्शन राम्रो हुन सकेन । बलिङमा रुपन्देहीका लक्ष्मण कुमालले सर्वाधिक ५ विकेट लिए । उनले ७ ओभरमा एक मेडन राख्दै १४ रन खर्चिए । यस्तै, प्रिन्स पालले ४ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको रुपन्देहीले २४.५ ओभरमा सबै विकेट गुमाउँदै १३१ रनको योगफल तयार पारेको थियो । रुपन्देहीका सिद्धार्थ ढकालले ५४ रनको अर्धशतकीइ इनिङ खेले । उनले ४५ बलमा चार चौका र चार छक्का प्रहार गरे । 

ओपनर रोजन कुमालले २६, समीर अलि मुसलमानले २२ र तुसार चौहानले १० रनको योगदान दिए । बलिङमा दाङका शुभम खनालले सर्वाधिक ५ र दक्ष ठाकुरले ३ विकेट लिए । चन्द्र बहादुर थापा र करण जीएमको नाममा एक एक विकेट रहृयो । 

प्रतियोगितामा रुपन्देहीका लक्ष्मण कुमाल म्यान अफ द म्याच घोषित भए । दाङले बाँकेलाई ६ विकेटले पराजित गर्दै समूह ‘बी’को विजेताको रुपमा फाइनल पुगेको थियो । रुपन्देही समूह ‘ए’ को विजेता बन्दै फाइनल पुगेको हो ।


प्रतिक्रिया