रोयल च्यालेन्जर्स बेंगलुरुलाई आईपीएलको उपाधि

जेष्ठ २१, २०८२

रोयल च्यालेन्जर्स बेंगलुरुले १८ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएलको उपाधि जितेको छ । अहमदावादस्थित नरेन्द्र मोदी रंगशालामा गएराति सम्पन्न फाइनलमा पन्जाव किंग्सलाई ६ रनले पराजित गर्दै बेंगलुरुले च्याम्पियन बनेको हो । 

बेंगलुरुले आईपीएलको उपाधि जितेको यो पहिलो पटक हो । जितका लागि बेंगलुरुले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको पन्जावले २० ओभरमा सात विकेट गुमाएर १ सय ८४ रन मात्र बनाउन सक्यो । यससँगै बेंगलुरुका विराट कोहलीको आईपीएल उपाधि जित्ने सपना पनि पूरा भएको छ । 

पन्जाबका लागि शशांक सिंहले ३० बलमा ६१ रन बनाएर नटआउट रहेपनि त्यो जितका लागि पर्याप्त रहेन । जोश इङ्लिसले ३९ रन बनाए । बेंगलुरुका भुवनेश्वर कुमार र क्रुणाल पान्ड्याले २–२ विकेट लिँदा जोश हेजलवूड, यश दयाल र रोमारियो शेपहर्डले १–१ विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले नौ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो । त्यसमा ओपनर विराट कोहलीले सर्वाधिक ४३ रन बनाएका थिए । अर्का ओपनर फिल साल्टले नौ बलमा १६ रन जोडे । 

त्यसपछि मध्यक्रमका सबै ब्याटरले रन जोडे पनि त्यसलाई ठूलो स्कोर बनाउन सकेनन् । पन्जावका केली जेमिसन र अर्सदीप सिंहले समान ३÷३ विकेट हात पारे । अजमतुल्लाह ओमरजाइ, विजयकुमार वाइशाक र युजभेन्द्र चहलले १–१ विकेट लिए । 

बेंगलुरुले यसअघि तीनपटक आईपीएलको फाइनल खेलेपनि उपाधि जित्न सकेको थिएन । सन् २००९, २०११ र २०१६ मा फाइनल खेलेको बेंगलुरु उपाधिबाट वञ्चित भएको थियो ।


प्रतिक्रिया