विश्वकप लिग–टू मा नेपालले नेदरल्यान्ड्सको सामना गर्दै

जेष्ठ २१, २०८२ | काठमाडौं

आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत नेपालले आज नेदरल्यान्ड्सको सामना गर्ने भएको छ । स्कटल्यान्डको डन्डीस्थित फोर्थहिल मैदानमा नेपाल र नेदरल्यान्ड्स बीचको खेल अपराह्न पौने ४ बजे सुरु हुनेछ । जारी सिरिजमा नेपालले आफ्नो दोस्रो र नेदरल्यान्ड्सले पहिलो खेल खेल्न लागेको हो । 

मुख्य प्रशिक्षक स्टुआर्ट लको नेतृत्वमा नेपालले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली स्कटल्यान्डलाई पराजित गरेको थियो । करण केसीले असाधारण ब्याटिङ प्रदर्शन गरेपछि नेपालले सोमबार स्कटल्यान्डमाथि १ विकेटको अविश्वसनीय जित हात पारेको हो । 

पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डमाथि रोमाञ्चक जित निकालेको नेपाल सोही लयलाई निरन्तरता दिन चाहान्छ । यस सिरिजको पहिलो खेल खेल्दै गरेको नेदरल्याण्ड्स पनि सुखद सुरुवातको योजनामा हुनेछ । 

नेपाल र नेदरल्याण्ड्सबीच भएका पछिल्ला पाँच खेलमा नेपालले दुई खेल जितेको थियो भने तीन खेलमा नेदरल्यान्ड्स विजयी भएको छ । नेपालले गत वर्ष घरेलु मैदानमा लिग–२ को सुरुआत गर्दा १ खेलमा जित हात पारेको थियो भने अर्को खेलमा पराजित भएको थियो ।

विश्वकप क्रिकेट लिग–२ मा अमेरिका र नेदरल्यान्ड्स शीर्ष टोली हुन् । अमेरिका २८ अंकका साथ पहिलो र २६ अंकसहित नेदरल्यान्ड्स दोस्रो र २४ अंकका ओमान तेस्रो स्थानमा छ । नेपाल लिग–टू तालिकाको सातौं स्थानमा छ । 

नेपालले १३ खेलमा ३ जितसहित ८ अंक जोडेको छ । १७ खेलमा २० अंकका साथ स्कटल्यान्ड चौथो स्थानमा छ । ८ राष्ट्र सहभागी प्रतियोगिताको शीर्ष चार टोली २०२७ को विश्वकप छनोटमा पुग्ने छन् ।


प्रतिक्रिया