प्रचण्ड कप महिला भलिबलमा पुलिस र न्यू डायमन्डको विजयी सुरुआत

जेष्ठ २८, २०८२ | पोखरा
पोखरामा मंगलबारदेखि सुरु भएको प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लबले विजयी सुरुआत गर्दै आफ्नो चुनौतीलाई सशक्त बनाएको छ । पोखरा रंगशालामा रहेको कभर्डहलमा भएको उद्घाटन खेलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै अंक जोडेको हो ।
खेलको पहिलो सेट निकै प्रतिस्पर्धात्मक रहृयो । पुलिसले अन्ततः २५–२२ को जित निकाल्न सफल भयो । दोस्रो सेटमा एपीएफले १८–१५ को अग्रता लिएको भएपनि त्यसलाई कायम राख्न सकेन । अन्तिम क्षणमा तीब्र लय समातेको पुलिसले २७–२५ ले सेट आफ्नो पक्षमा पार्दै २–० को अग्रता बनायो । तेस्रो तथा अन्तिम सेटमा भने पुलिसले पूर्ण नियन्त्रण जमाउँदै २५–१७ को सहज जित हात पार्यो । जेठ १५ मा पोखरामा नै भएको पीएम कप एनभीए लिग भलिबल प्रतियोगिताको उपाधि पुलिसले जितेको थियो ।
मंगलबार दोस्रो खेलमा टिपटप न्यू डायमन्डले एभरेस्ट भलिबल क्लबलाई ३–० को सहज सेटमा पराजित गर्यो । पहिलो सेट २५–११ ले आफ्नो पक्षमा पारेको न्यू डायमन्डले दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१० मा समेट्यो । राउन्ड रोबिन लिगका आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा बुधबार पुलिसले स्टेप रामपुर क्लबसँग खेल्नेछ । बुधबारको दोस्रो खेल न्यू डायमन्ड र गण्डकी प्रदेशबीच हुनेछ ।
नेशनल स्पोटर््स एकेडेमी र अखिल नेपाल खेलकुद महासंघको आयोजनामा सुरु भएको प्रतियोगितामा यसपल्ट नयाँ टोली स्टेप रामपुर समावेश भएको हो । नेपाली सेनाको टिमले प्रतियोगितामा सहभागी हुन नसक्ने जानकारी दिएपछि आयोजकले रामपुरलाई अवसर दिएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले खेलकुदले राष्ट्रिय एकता, अनुशासन र युवाको विकासमा सकारात्मक भूमिका खेल्ने बताउनुभयो । उहाँले यस्तो प्रतियोगिताले खेलकुद क्षेत्रमा नयाँ प्रतिभा उजागर, महिला सशक्तिकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रतियोगितामा नेपाल पुलिस क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, न्यू डायमन्ड स्पोर्ट्स क्लब, एभरेस्ट भलिबल क्लब र स्टेप रामपुरबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले ६ लाख, दोस्रो हुने टोलीले ३ लाख र तेस्रोले १ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीले ३० हजार रुपैयाँ तथा विभिन्न विधातर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले जनही २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।