उपाधिका लागि विभागीय डर्बीमा पुलिस र एपीएफ भिड्दै

जेष्ठ ३१, २०८२
प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि विभागीय डर्बीमा नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । उपाधि भिडन्त पोखरा रंगशालास्थित कभर्डहलमा हुनेछ ।
पुलिसले हिजो भएको पहिलो सेमिफाइनलमा एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि यात्रा तय गरेको हो । पुलिसले २५–१६, २५–१३ र २५–११ ले नतिजा आफ्नो पक्षमा पार्यो ।
यस्तै, दोस्रो सेमिफाइनलमा एपीएफ क्लबले न्यू डायमन्ड युथ स्पोट्र्स क्लबलाई पनि ३–० को सोझो सेटमा हराउँदै फाइनल यात्रा तय गर्यो । एपीएफले न्यू डायमन्डलाई २५–१७, २६–२४ २५–१९ ले सेटमा हराउँदे उपाधि भिडन्त पक्का गरेको हो ।
न्यू डायमन्डले समूह चरणमा गण्डकी प्रदेश र एभरेस्ट क्लबलाई सोझो सेटमा हराउँदै सेमिफाइनल यात्रा तय गरेको थियो । तर, निर्णायक खेलमा आफ्नो लय दोहोर्याउन नसक्दा प्रतियोगिताबाट बाहिरिन पुग्यो ।
प्रतियोगितामा पुलिस, एपीएफ, गण्डकी प्रदेश, न्यू डायमन्ड, एभरेस्ट र स्टेप रामपुर क्लबको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले ६ लाख, उपविजेताले ३ लाख र तेस्रोले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीले ३० हजार रुपैयाँ तथा विभिन्न विधागत उत्कृष्टले जनही २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।