महिला युरो कप फुटबलको उपाधि इंग्ल्याण्डले उचाल्यो

श्रावण १२, २०८२ | काठमाडौं
स्पेनलाई पराजित गर्दै इंग्ल्याण्डले यूइएफए महिला युरो कप फुटबलको उपाधि जितेको छ । स्विट्जरल्यान्डको सेन्ट ज्याकोब पार्क स्टेडियममा गएराति भएको फाइनलमा डिफेन्डिङ च्याम्पियनका रुपमा उपाधि रक्षा गर्ने क्रममा इंग्ल्यान्डले टाइब्रेकरमा स्पेनलाई ३–१ गोल अन्तरले हराएको हो ।
निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो । पेनाल्टी सुटआउटमा क्लोइ केलीले निर्णायक गोल गरिन् । स्पेन लगातार तीन पेनाल्टीमा गोल गर्न चुकेको थियो । त्यसमध्ये दुई प्रहार इंग्लिस गोलरक्षक हनाह ह्याम्पटनले बचाएकी थिईन् ।
स्पेनले खेलको २५ औं मिनेटमा म्यारिना काल्डेन्टेरीको गोलबाट अग्रता लिएको थियो । तर, त्यसलाई जोगाइ राख्न सकेन । खेलको ५७ औं मिनेटमा एलेसिया रुसोले इंग्ल्यान्डका लागि बराबरी गोल फर्काइन् ।
इंग्ल्यान्डले विदेशी भूमिमा कुनै पनि ठूलो उपाधि जितेको यो नै पहिलो पटक हो । इंग्ल्यान्डकी प्रशिक्षक सरिना वेघमनका लागि पनि यो ठूलो उपलब्धी रह्यो । उनले लगातार तेस्रो पल्ट फरक दुई टिमका लागि युरोपको उपाधि चुमिन् ।