पल्सर स्पोर्टस् अवार्डका लागि चार विधाको मनोनयन सार्वजनिक

भाद्र २१, २०८२ | काठमाडौं
नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्टस् अवार्डका लागि चार विधाको मनोनयन सार्वजनिक गरेको छ । यही भदौ २९ गते पोखरामा हुने अवार्डका लागि पुरुष बर्ष खेलाडी, महिला बर्ष खेलाडी, युवा बर्ष खेलाडी र उत्कृष्ट प्रशिक्षकको मनोनयन आज घोषणा गरिएको हो ।
पुरुषतर्फ बर्ष खेलाडीको मनोनयनमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल, खोखोका जनक चन्द, टेबुल टेनिसका स्यान्टु श्रेष्ठ र उसुका विजय सिन्जाली परेका छन् । त्यस्तै महिला तर्फ करातेकी एरिका गुरुङ र एलिसा रास्कोटी मगर, खोखोकी मानमति धामी, फुटवलकी रेखा पौडेल र भलिवलकी सलिना श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ ।
उत्कृष्ट युवा बर्ष खेलाडीको मनोनयनमा एथ्लेटिक्सका अजय विक, करातेकी अञ्जली महर्जन, क्रिकेटकी पूजा महतो, बक्सिङकी स्वस्तिका तिरुवा र फुटवलका समीर तामाङ छन् ।
त्यस्तै, उत्कृष्ट बर्ष प्रशिक्षकमा पारा तेक्वान्दोका कविराज नेगी लामा, करातेका कुशल श्रेष्ठ, क्रिकेटका महेश रिजाल, खोखोका लक्ष्मीनारायण वैद्य र बक्सिङका दीपक महर्जन मनोनयनमा परेका छन् । अन्य ४ विधाका विजेता भने अवार्डकै दिन घोषणा गरिने मञ्चले जनाएको छ ।