इटहरीमा खुला पुरुष भलिबल प्रतियोगिता हुने

पुस ३, २०८२ | इटहरी

इटहरीमा आगामी माघमा कोशी प्रदेश पालिकास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । इटहरी भलिबल क्लबको आयोजनामा हुने प्रतियोगिता माघ ७ गतेदेखि सुरु हुनेछ । 

तीन दिनसम्म चल्ने प्रतियोगितामा कोशी प्रदेशका विभिन्न १० वटा पालिकाका टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता अन्तर्गतका खेलहरु इटहरी रंगशाला परिसरमा रहेको भलिबल कोर्टमा हुनेछन् । 

प्रतियोगितामा सहभागी हुने टिमले बढीमा तीन जना मात्र राष्ट्रिय खेलाडीलाई समावेश गर्न पाउने व्यवस्था गरिएको छ । तर, ती तीनै जना खेलाडी कोशी प्रदेशकै हुनुपर्ने छ । 

प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ तथा उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । 

यस्तै, सेमिफाइनलमा पराजित टिमहरूलाई पनि सान्त्वना पुरस्कार स्वरुप १०/१० हजार रुपैयाँ प्रदान गरिने छ । 

प्रतियोगिताका लागि ६ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया