प्लानिङ ब्वाइज युनाइटेडकोे राष्ट्रिय लिग फुटबलमा चौथो जित
माघ २१, २०८२ | काठमाडौं
प्लानिङ ब्वाइज युनाइटेडले राष्ट्रिय लिग फुटबलमा चौथो जित हात पारेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज सम्पन्न खेलमा प्लानिङले फ्रेन्ड्स क्लबलाई २–० गोलले हरायो । प्लानिङको जितमा फागुराम थारुले २ गोल गरे ।
यो नतिजासँगै प्लानिङले १३ अंक जोडेको छ । फ्रेन्ड्सको ४ अंक छ । यसअघि भएको पहिलो खेलमा सुर्खेतको कांक्रेविहार क्लब र चित्लाङ फुटबल क्लबले २/२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
कांक्रेबिहारले अग्रता जोगान नसक्दा पहिलो जित हात पार्न सकेन । कांक्रेबिहारका लागि भरत नागलक र सन्दिप देउबाले गोल गर्दा चित्लाङका चेतन कुमार थारु र आरोन थापाले गोल गरे । लगातार पाँच खेलमा पराजित भएको कांक्रेविहारले चित्लाङलाई बराबरीमा रोक्दै एक अंक जोडेको छ । ६ खेलबाट १ अंक जोडेको कांक्रेविहार अंक तालिकामा १६औं स्थानमा छ । चित्लाङको ६ खेलबाट ६ अंक छ ।











