सरकारले निर्वाचन सार्न खोजेको एमालेको आशंका

रेडियो कान्तिपुर संवाददाता

माघ २१, २०८२ | काठमाडौं

एमाले उपाध्यक्ष रामबहादुर थापाले सरकार निर्वाचन सार्ने उद्देश्यले बहाना खोजिरहेको आरोप लगाउनुभएको छ । काठमाडौंमा आज पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष थापाले प्रधानमन्त्री स्वयंले हिमाली जिल्लामा हिमपातको सम्भावनालाई कारण देखाउँदै निर्वाचन सार्न सकिने वा हिमाली क्षेत्रमा दोस्रो चरणमा निर्वाचन गर्न सकिने अभिव्यक्ति दिएको उल्लेख गर्नुभयो । 

उपाध्यक्ष थापाले निर्वाचन सार्न खोजिनु लोकतान्त्रिक प्रक्रियाविपरीत रहेको दाबी गर्दै वर्तमान सरकार अवैध र प्रायोजित ढंगबाट गठन भएको आरोप समेत लगाउनुभयो । 

यसैबीच, एमालेको चुनाव चिन्ह परिवर्तन भएको भन्दै एआई प्रविधिबाट भ्रामक सामग्री तयार गरी प्रसारण गरिएकोप्रति एमालेले आपत्ति जनाएको छ । पत्रकार सम्मेलनमा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले देशभर सञ्चालन भइरहेका निर्वाचनसम्बन्धी गतिविधि र प्रचार–प्रसारका शैलीमा प्रविधिको गैरराजनीतिक तथा गैरजिम्मेवार ढंगले प्रयोग भइरहेको भन्दै पार्टी त्यसको विरोधमा रहेको उल्लेख गर्नुभयो ।


प्रतिक्रिया