राष्ट्रिय लिग फुटबलमा एपीएफ एनआरटीसँग बराबरीमा रोकियो
माघ २०, २०८२
राष्ट्रिय लिग फुटबलअन्तर्गत आज भएको खेलमा न्युरोड टिम एनआरटीले एपीएफ क्लबलाई बराबरीमा रोकेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज सम्पन्न खेलमा एपीएफ एनआरटीसँग गोलरहित बराबरीमा रोकिएको हो । यो नतिजासँगै एपीएफको ५ खेलबाट १३ अंक छ । समान खेलबाट एनआरटीको १० अंक छ ।
अर्को खेलमा जावलाखेल युथ क्लबले नव जनजागृति युवा क्लबलाई ४–० गोलले पराजित गर्दै लिगमा दोस्रो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न खेलमा जावलाखेलको जितमा धर्मेन्द्र कुँवरको २, हरिशराज भट्ट र बौबकार सिस्सोखाले एक/एक गोल गरे ।
लिगमा ५ खेलबाट जावलाखेलले ६ अंक जोडेको छ । समान खेलमा जनजागृति अंकविहीन बन्दै तालिकाको पुच्छरमा छ । यस्तै, दशरथ रंगशालामा जारी अर्को खेलमा मनाङ मस्र्याङदी क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।










