जय ट्रफी दुईदिवसीय राष्ट्रिय क्रिकेट काठमाडौंमा सुरु

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ८, २०८२ | काठमाडौं

जय ट्रफी दुईदिवसीय राष्ट्रिय क्रिकेट काठमाडौंमा सुरु भएको छ । पहिलो दिन त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले अग्रता लिएका छन् । 

मुलपानीस्थित क्रिकेट मैदानमा टस जितेको एपिएफले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको बागमतीलाई पहिलो इनिङग्समा ९ विकेटको क्षतिमा २ सय ७ रन बनाएपछि इनिङ्स समाप्तीको घोषणा भयो ।

बागमतीका लागि विवेक मगरले सर्वाधिक ४२ रन जोड्दा बलिङमा एपिएफका इर्शाद अहमदले ३ विकेट लिए । जवाफी ब्याटिङ गरेको एपिएफ २ सय ३९ रनमा अलआउट भयो । 

उसका लागि कप्तान रोहित पौडेलले नटआउट ८७ रन र सन्दीप जोराले ६१ रन बनाए । बलिङमा बागमतीका रिजन ढकालले ३ विकेट लिए । पहिलो दिन नै आफ्नो दोस्रो इनिङ्ग्स सुरु गरेको बागमतीले ओपनर सूर्य तामाङलाई एक रनमा गुमाउदा दिनको खेल सकिएको छ भने बागमतीले ३१ रनले पछि परेको अवस्था छ ।  


प्रतिक्रिया