सेभिया र लिभरकुशेन युरोपा लिगको क्वार्टरफाईनलमा

श्रावण २३, २०७७ | काठमाडौं

सेभिया, वायर लिभरकुशेन र वुल्भरहेम्प्टन युरोपा लिग फुटबलको क्वार्टरफाईनलमा प्रबेश गरेका छन् । दोस्रो लेगमा रोमालाई २–० ले हराउँदै सेभियाले अन्तिम आठको यात्रा तय गरेको थियो ।

पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो । पााच पटकको विजेता सेभियालाई सहज जित दिलाउन सर्जियो रेगुईलोन र युसुफ एन नास्रीले गोल गरे । सेभियाले दुबै गोल खेलको पहिलो हाफमै गरेको थियो । सेभियाले क्वार्टरफाईनलमा वुल्भरहेम्प्टनसँग खेल्नेछ । 

४८ बर्षपछि युरोपा लिगको क्वार्टरफाईनलमा स्थान बनाउने क्रममा वुल्भरहेम्प्टनले ओलम्पियाकोसलाई १–० ले हरायो । पहिलो लेग एक एकको बराबरीमा सकिएकाले समग्रमा २–१ को जित निकाल्दै वुल्भरहेम्प्टन झण्डै ५ दशकपछि अन्तिम आठमा प्रबेश गरेको हो । उसलाई किर्तिमानी जित दिलाउन राउल जिमिनेजले खेलको आठौं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल निर्णायक बन्यो ।

गएराती नै वायर लिभरकुशेनले रेनगर्समाथी १–० को जित निकाल्दै समग्रको ४–१ को नतिजा हात पार्यो । मौसा डियावेले ५१ औं मिनेटमा गरेको गोल उसको जितमा निर्णायक बनेको थियो । पहिलो लेगमा लिभरकुशेन ३–१ ले विजयी बनेको थियो । फ्रान्कफर्टलाई १–० ले हराउँदै एफसी वासेल समग्रमा ४–० को नतिजा सहित क्वार्टरफाईनलमा प्रबेश गरेको छ ।

अन्तिम आठको स्पर्धामा ईन्टर मिलान र वायर लिभरकुशेन, म्यानचेष्टर युनाईटेड र एफसी कोपनहेगन, साख्तर डोनेस्क र एफसी वासेल तथा सेभिया र वुल्भरहेम्प्टन प्रतिस्पर्धा गर्नेछन् । क्वाटरफाईनल चरणका खेलहरु सोमबारबाट सुरु हुनेछन् ।   


प्रतिक्रिया