आर्सनलबिरुद्ध लिभरपुलको सहज जित

आश्विन १३, २०७७ | काठमाडौं

डिफेण्डिङ च्याम्पियन लिभरपुलले ईङलिश प्रिमियर लिग फुटबलमा लगातार तेस्रो जित हात पारेको छ । घरेलु मैदानमा गएराती आर्सनललाई ३–१ ले हराउँदै लिभरपुल तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।

 उसको जितमा सादियो माने, एन्ड्रयु रोबर्टसन र डिएगो जोटाले एक एक गोल गरे । आर्सनलका अलेक्जेण्डर लाकाजेट्ले सान्त्वना गोल गरे । जारी सिजन आर्सनलको यो पहिलो हार हो । खेलमा अग्रता भने २५ औं मिनेटमा लाकाजेट्को गोलमा आर्सनलले लिएको थियो ।

२८ औं मिनेटमा मानेले लिभरपुललाई बराबरीमा पुर्याएका थिए । रोबर्टसनले ३४ औं र जोटाले ८८ औं मिनेटमा गोल गर्दै लिभरपुललाई जित दिलाए । ३ खेलबाट ९ अंक जोडेको लिभरपुल गोल अन्तरले लेष्टर भन्दा पछि परेको हो ।

गएराति नै फुल्ह्यामलाई ३–० ले हराउँदै एष्टन भिल्लाले सिजनको दोस्रो जित हात पारेको छ । उसलाई शानदार जित दिलाउन ज्याक ग्रार्लिस, कोनोर हावरहान र थेरोन मिङग्सले समान एक गोल गरे । 

चौथो मिनेटमा ग्रालिसको गोलमा अग्रता बनाएको एष्टनभिल्लाका लागि हावरहानले १५ औं मिनेटमा अर्को गोल थपेका थिए । दोस्रो हाफको तेस्रो मिनेटमा मिङग्सले गोल गर्दै टोलीलाई शानदार जित दिलाएका हुन् । ३ खेलबाट ६ अंक जोडेको एष्टनभिल्ला तालिकाको चौथो स्थानमा उक्लिएको छ । 


प्रतिक्रिया