घरबाटै काम गराउने व्यवस्था मिलाउन राष्ट्र बैंकको निर्देशन

श्रावण २५, २०७७ | काठमाडौं

कोरोना भाइरसको बढ्दो जोखिमलाई ध्यानमा राखेर राष्ट्र बैंकले पुन: बैंक तथा वित्तीय संस्थालाई कर्मचारीको आलोपालो र सम्भव भएसम्म घरबाटै काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई यस्तो निर्देशन दिएको हो । 

अहिलेको विषम परिस्थितिमा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अपनाएर कसरी गुणस्तरीय सेवा दिन सकिन्छ भन्ने बारेमा ‘विजनेश कन्टिन्यूटी प्लान’ बनाउन पनि राष्ट्र बैकले भनेको छ । राष्ट्र बैंकले जारी गरेको सूचनामा कोभिड–१९ संक्रमणको जोखिम व्यवस्थापन गर्न आवश्यकता अनुसार समूह विभाजन गरी आलोपालो प्रणालीमा कर्मचारी उपस्थित हुने व्यवस्था मिलाउन भनेको छ ।

सरकारले देशको विभिन्न स्थानमा लकडाउन, निषेधाज्ञा, सार्वजनिक तथा निजी सवारी साधनको आवागमनमा जोरबिजोर प्रणाली लगायत विशेष परिस्थितिलाई मध्यनजर गरी घरबाटै काम गर्ने वातावरण बनाउन पनि राष्ट्र बैंकले भनेको छ । 

यस्तै, प्रदेशमा सञ्चालन भएका शाखाको हकमा सम्बन्धित, प्रदेश, स्थानीय तह र स्थानीय प्रशासनको निर्णय बमोजिम वैकल्पिक रुपमा सञ्चालनको व्यवस्था मिलाउने आग्रह गरेको छ । लकडाउनको कारणले सञ्चालन हुन नसकेको शाखाको विवरण नियमित रुपमा राष्ट्र बैंकमा उपलब्ध गराउन र विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।


प्रतिक्रिया