चैत्र ११ गते देखि अनिश्चित बनेको शैक्षिक क्यालेण्डर व्युँतने सम्भावना बलियो

श्रावण ११, २०७७ | काठमाडौं

– त्रिभुवन विश्वविद्यालयले बन्दाबन्दी खुलेसंगै स्थगित परीक्षा सञ्चालनको तयारी थालेको छ । सरकारले हवाई तथा सडक यातायात खोल्ने देखि विद्यालयमा विद्यार्थी भर्ना र परीक्षा सञ्चालनको अनुमति दिएको छ । योसँगै चैत्र ११ गते देखि अनिश्चित बनेको शैक्षिक क्यालेण्डर व्युँतने सम्भावना बलियो बनेको छ । प्रतिवन्धित क्षेत्रहरु खुकुलो बन्दै गएपछि त्रिवि परीक्षा नियन्त्रण कार्यालय पनि परीक्षा सञ्चालनको तयारीमा जुटेको छ ।

यो बेला विद्यालय तहदेखि विश्विद्यालयसम्म्को शैक्षिक क्यालेण्डर अस्तव्यस्त छ । कक्षा ९ सम्मको अन्तिम परीक्षापछि ठप्प बनेको शैक्षिक क्षेत्र भदौं एक गतेबाट मात्र केही बौरिने तयारीमा छ । एसईई र कक्षा ११ को परीक्षा नहुने निश्चित भएको छ भने कक्षा १२ देखि माथिका लागि बल्ल तयारी सुरु भएको छ । कोरोना महामारी नहुदो हो त यो बेला साढे २ लाख विद्यार्थी कक्षा चढेका हुने थिए । तर ५ महिना पछि सहज हुने गरी सरकार बल्ल तयारीमा जुटेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशी विद्यार्थीको संख्याका आधारमा परीक्षाको खाका तयार भइरहेको बताउनुहुन्छ ।

कोरोना संक्रमणका कारण यो वर्षको शैक्षिक क्यालेण्डर मात्र है शैक्षिक सत्र नै प्रभावित भएको छ । चैतमा हुने अधिकांश परीक्षा भदौ तेस्रोसाताबाट मात्र सञ्चालन हुने भएपछि सो पछिका हरेक परीक्षामा त्यसको प्रभाव देखिन थालेको छ । कोरोना महामारीले स्नातकोत्तर तहको प्रथम, स्नातक तहको दोस्रो र विभिन्न तहका सेमेष्टर प्रणालीका परीक्षा रोकिएका छन् । तिनै प्रभावित परीक्षा सञ्चालनका लागि त्रिवि जुटेको हो । सेमेष्टर प्रणालीको भदौ दोश्रो साता र वार्षिक परीक्षा असोजमा गर्ने त्रिविको तयारी छ । भाद्रको दोश्रो हप्तापछि सेमेष्टर प्रणालीको परीक्षा सञ्चालन गर्ने र आश्विनमा वार्षिक परीक्षा सञ्चालन गर्ने उहाँको भनाई छ ।

असारपछि अधिकांश स्कुलहरुले भर्चूअल कक्षा सञ्चालन गरिरहेपनि खाली पेटले काम गर्न नसक्ने भन्दै शिक्षकहरु आन्दोलनमा छन् । विद्यार्थी होल्ड गराउँदै पठनपाठनको बानी कायमै राख्न उनीहरु सफल भएपनि गुनासो सम्बोधन भने सरकारले गरिदिएको छैन । कोरोना संक्रमणको दर अझै बढिरहेकाले विद्यार्थीका माझ बसेर औपचारिक रुपमा अध्यापन कार्य गराउने सम्भावना पनि तत्काल छैन । तर परीक्षाका लागि त कक्षा कोठा छिर्नै पर्ने हुन्छ । संक्रमणको दर बढीरहेका बेला विद्यालय, विश्वविद्यालयले/परीक्षा सञ्चालनका लागि विभिन्न विधि अपनाउनै पर्नेछ । त्रिविले परीक्षा सञ्चालन गर्दा विद्यार्थीलाई पायक पर्ने क्याम्पसमा परीक्षा केन्द्र राख्ने जनाएको छ । शिक्षाविद् प्राध्यापक डाक्टर गणेश सिंह यसअघि पनि क्यालेडण्डर अनुरुप परक्षिा सञ्चालन नभएकाले खासै असर नपर्ने उल्लेख गर्दै कोभिड १९ ले पारेको असर पुर्ति गर्न विदामा कटौती गर्न सकिने बताउनुहुन्छ ।

आन्तरिक मुल्याङ्कनका आधारमा एसईई र कक्षा ११ का विद्यार्थीको अन्तिम नतिजा प्रकाशनको तयारी भइरहेको छ । कक्षा १२ सम्मलाई विद्यालय तह मानेपनि शिक्षाको फलामे ढोकाको रुपमा रहेको एसईईको परीक्षा भने स्थगित गर्न सरोकारवालाई कठिन प्राय: थियो जुन कोरोनाले सहज बनाई दिएको छ । आन्तरिक मुल्यांकनका आधारमा एसईई र कक्षा ११ को नतिजा प्रकाशनको अन्तिम तयारी छ तर माध्यमिक शिक्षाको अन्तिम खुड्कीलो रहेको कक्षा १२ को परीक्षा भने जुन सुकै सर्तमा सञ्चालन गराउनु पर्नेछ । कक्षा १२ को परीक्षा विगतकै ढाँचामा असोज पहिलो हप्तामा सञ्चालन गर्ने तयारी रहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले बताउनुभयो ।

चैत्र ११ गते सरकारले लकडाउन शूरु गरेको दिन नेपालमा कोरोना संक्रमितको संख्या २ जना थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार आइतबारसम्म १८ हजार ६ सय १३.पुगेको छ । कोरोना संक्रमणको दर कम भएको भन्दै सरकारले लकडाउन खोलेपछिको अवस्थामा संक्रमण समुदायस्तरमा फैलन थालेको छ । राजविराज, वीरगञ्ज र विरानगर बढी जोखिममा देखिएका छन् । यो क्रम अन्य क्षेत्रमा समेत फैलिए, भदौं एक गतेबाट सुरु गर्ने भनिएको शैक्षिक गतिविधि के होला त ? ढुक्क हुने अवस्था अझै छैन । 


प्रतिक्रिया