अर्नाको आलिङ्गगन (तस्बिरहरु)

तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर ।  

जेष्ठ १९, २०७७ | चितवन

अर्ना अर्थात भैंसी जस्तै देखिने जंगली जनावर जसको नेपालमा मुख्य बासस्थल कोशीटप्पु निकुञ्ज हो । त्यहाँ बाहेक अन्यत्र अर्ना छैन पनि । तर, ७३ सालको पुसमा कोशीबाट चितवन राष्ट्रिय निकुञ्जमा अर्ना ल्याएर राखिएको छ । 

त्यो बेला कोशी टप्पुबाट १२ र सदर चिडियाखानाबाट तीन गरेर १५ वटा अर्ना चितवनमा ल्याइएको थियो । कुनै बेला चितवनमा अर्ना देखिने स्थानीयले सुनाउँछन् । तर, देखिन छाडेको लामो समय भएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरेको एउटा वस्ती छ । जसलाई पदमपुर भन्ने गरिन्छ । पदमपुरमा मान्छे हटाएपछि खाली भएको फाँटमध्ये ३० हेक्टर जमिनलाई तारबार गरेर अर्ना छाडिएको हो । जुन ठाउँ चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालय सौराहाबाट दक्षिणमा पर्दछ । पदमपुरमा छाडेका १५ अर्नामध्ये ६ वटा अर्ना विभिन्न कारणले मरे । तर, स्थानान्तरण गरेर ल्याएपछि चारवटा बच्चा जन्मेका छन् ।

अर्ना ल्याउँदा कोशीबाट दुई भाले र चिडियाखानाबाट एउटा गरेर तीन वटा भाले ल्याएको हो । बच्चाहरु समेत गर्दा अहिले कुल अर्नाको संख्या १३ र भालेको संख्या ६ पुगेको छ । निकुञ्जको पूर्वी सेक्टर कार्यालयका प्रमुख रहेका सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरेका अनुसार २०७४ सालको साउन २८ गते आएको भिषण बाढीले अर्नाहरुलाई पनि सताएको थियो । तर, उनीहरुको स्वास्थ्य अवस्थ विस्तारै सुधार हुँदै आयो ।

तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर ।

जन्मेका चारवटा बच्चा राम्रोसँग हुर्केका छन् । १३ वटा अर्ना एउटै झुण्डमा बस्ने गर्दछन् । चर्ने, खेल्ने र आहालमा मस्त हुने गरेको भेटिन्छ । घाँस कम भएका बेलामा निकुञ्जले चोक्करको समेत व्यवस्था गर्दछ । अहिले थप १५ हेक्टरमा तारबार गरेर क्षेत्र बढाउन लागेको सहायक संरक्षण अधिकृत घिमिरेले जानकारी दिुभयो । कोशीबाट गरेको अर्ना स्थानान्तरण सफल हुँदै गएको उहाँको भनाई छ ।


प्रतिक्रिया