पूर्वी नवलपरासीका ३ वटा गैंडा चितवनमा स्थानान्तरण (तस्बिरहरु)

चैत्र ११, २०८० | पूर्वी नवलपरासी

एक साताको अवधिमा पूर्वी नवलपरासीबाट तीन वटा भाले गैंडा चितवनमा स्थानान्तरण गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत पश्चिम सेक्टरमा गैंडाको संख्या बढी भएपछि पूर्वतर्फ स्थानान्तरण गरिएको हो । 

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नवलपरासीको दिव्यपुरी क्षेत्रबाट दुई वटा गैंडालाई पूर्व क्षेत्रमा स्थानान्तरण गरिएको हो । एक साताको अवधिमा ८ र १७ वर्षका गैंडालाई डार्ट गरेर चितवनको खैरहनी नगरपालिका अन्तर्गत कुचकुचे मध्यवर्ती सामुदायिक वनमा छोडिएको हो । 

पूर्वी नवलपरासीमा गैंडाको संख्या धेरै भएपछि पूर्व सारिएको हो । अझै ७ वटा गैंडा स्थानान्तरण गरिने छ । त्यसका लागि गत एक सातादेखि प्राविधिक सहित ६० जनाको टोली निकुञ्ज आसपासको क्षेत्रमा खटिएको छ । 

चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ९४ गैंडा छन् । ती मध्ये ४ सय ९४ वटा गैंडा नवलपरासी क्षेत्रमा छन् । एकै थलोमा धेरै गैंडा थुप्रिएपछि बासस्थान र चरिचरणको समस्या भएको निकुञ्जले जनाएको छ । 

पूर्वी नवलपरासी तर्फ पर्ने चितवन निकुञ्ज र आसपासको क्षेत्रमा प्रयाप्त घाँसे मैदान, आहाल खेल्ने ठाउँ र चरिचरण क्षेत्र धेरै फराकिलो भएका कारण गैंडा यतै आर्कषित भएको निकुञ्जले जनाएको छ ।


प्रतिक्रिया