भूतपूर्व सैनिक सम्मेलन–२०८० सम्पन्न (तस्बिरहरु)

चैत्र ५, २०८० | काठमाडौं
प्रधान सेनापति प्रभुराम शर्माले भूतपूर्व सैनिक सर्वसाधारण नागरिक मात्र नभई राज्यलाई आवश्यक परेको अवस्थामा स्वतः स्फूर्त योगदान दिन सक्ने तालिम प्राप्त जनशक्ति भएको बताउनु भएको छ । काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजित भूतपूर्व सैनिक सम्मेलनमा सम्बोधन गर्दै प्रधान सेनापति शर्माले यस्तो जनशक्ति हिजोका दिनहरुमा जस्तै आज पनि महत्वपूर्ण सम्पत्तिको रुपमा रहेको बताउनुभयो ।




अवकाश प्राप्त सकल दर्जाबीच आपसमा अनुभव साट्ने, बहालवाला र अवकाश प्राप्त सैनिकबीच सामीप्यताको भावना जागृत गराउने, नेपाली सेनाद्वारा सञ्चालित विविध कल्याणकारी कार्यक्रमको जानकारी गराई प्राप्त राय सुझावबाट समयानुकूल सुधार गर्दै लैजाने उद्देश्यले उपत्यका पृतनाको जिम्मेवारी क्षेत्रमा रहेका भूतपूर्व सैनिकहरुको सहभागितामा सम्मेलन आयोजना गरिएको थियो ।



समारोहमा ९९ वर्षीया ज्ञान कुमारी उपाध्यायलाई जेष्ठ एकल महिला सम्मान एवं ९७ वर्षका प्रमुख सुबेदार बेल बहादुर गुरुङ्गलाई जेष्ठ भूतपूर्व सैनिक सम्मान प्रदान गरिएको थियो । १०० वर्षका अमल्दार खिम बहादुर बोहोरा क्षेत्रीलाई जेष्ठ भूतपूर्व शताब्दी पुरुषका रुपमा अभिनन्दनको व्यवस्था मिलाइएको जानकारी दिइएको थियो । त्यसै गरी, सर्वोत्कृष्ट उद्यमी अमल्दार रुद्र बहादुर गुरुङ्ग र उत्कृष्ट उद्यमी जमदार कृष्ण श्रेष्ठकी श्रीमती सविता श्रेष्ठलाई प्रशंसापत्र एवं पुरस्कार वितरण गरिएको जनसम्पर्क तथा सूचना निर्देशनालय जंङ्गी अड्डाले जनाएको छ ।








सो क्रममा चार वा सो भन्दा बढी सन्तति नेपाली सेनामा रहेका १६ जना अभिभावकलाई सम्मान गरिनुका साथै, विभिन्न सहुलियतपूर्ण कर्जा प्राप्त गर्ने व्यक्तिलाई कर्जाको चेक हस्तान्तरण गरिएको थियो । यस्तै, फरक क्षमता भएका तथा अशक्त २० जना हिताधिकारीहरुलाई व्हिल चेयर तथा २२ जनालाई अन्य उपकरण वितरण गरिएको निर्देशनालयले जनाएको छ । आइतबार नै काठमाडौँको वाहिटी, बालाजु र सुन्दरीजल, ललितपुरको लगनखेल, भक्तपुरको सूर्यविनायक र गठ्ठाघर, काभ्रेको धुलिखेल एवं सिन्धुपाल्चोकको चौतारामा पनि भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ ।