विराटनगरमा ट्राभल हिस्ट्रि नभएका १४ जनामा कोरोना पुष्टि

तस्बिर : रोयटर्स 

श्रावण ११, २०७७ | मोरङ

मोरङको विराटनगर महानगरपालिकाभित्र ट्राभल हिस्ट्रि नभएका १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कहिँकतै नगएका व्यक्तिहरुमा संक्रमण पुष्टि भएकाले समुदायमै कोरोना फैलिएको निष्कर्ष निकालेको महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताउनुभयो । 

समुदायमा कोरोना फैलिसकेको भन्दै महानगरबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा सोमबारबाट बन्द गर्ने निर्णय गरेको छ । महानगरमा लाग्दै आएको साप्ताहिक हाट बजार अर्को सूचना नहुञ्जेल सम्मका लागि बन्द गरिएको हो । यस्तै, मास्क नलगाउनेलाई पहिलो पटक १० रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको महानगरकी उपप्रमुख इन्दिरा कार्कीले बताउनुभयो ।

‘मास्क नलगाई पसल सञ्चालन गर्नेलाई १५ दिनसम्म पसल बन्द गर्ने निर्णय भएको छ,’ उहाँले भन्नुभयो, ‘सार्वजनिक स्थलमा भिडभाड नियन्त्रणका लागि महानगरस्थित सरकारी कार्यालयहरुको सेवा बन्द गर्नका लागि प्रमुख जिल्ला अधिकारीसँग छलफल भइरहेको छ ।’

कोरोना संक्रमण नियन्त्रणका लागि मास्क लगाउने, साबुन पानीले पटकपटक हात धुने, सेनिटाइज गर्ने, भिडभाडमा नजाने लगायत जनचेतना अभिवृद्धि, समुदायस्तरमा स्वाब परीक्षणको काम भइरहेको जनस्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताउनुभयो ।

‘महानगरमा स्वाब परीक्षणको दायरा बढाउनका लागि प्रदेश सरकारसँग माग गरेका छौं,’ उहाँले भन्नुभयो, ‘यसअघि दैनिक ५० जनाको स्वाब संकलन भइरहेको थियो भने अहिले १ सय ५० देखि २ सय जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाउने गरेका छौं ।’

प्रदेश १ को सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले समुदायमा कोरोना फैलियो भने गुणात्मक वृद्धि हुने बताउनुभयो । ‘समुदायमा फैलिए पहिलो दिन ५ जनामा संक्रमण पुष्टि भए अर्को दिन २५ जनामा संक्रमण हुन्छ,’ उहाँले भन्नुभयो, ‘महानगरमा समुदाय स्तरमा स्वाब संकलन भइरहेको र त्यसको रिजल्ट नआउञ्जेल समुदायमै फैलिसकेको भन्न सकिदैन ।’ 

तर महानगरभित्र समुदायमा फैलिएको भन्न मिल्ने बिभिन्न कारण मध्ये एउटा ट्राभलहिस्ट्रि नभएका व्यक्तिहरुमा संक्रमण देखिएको मेहताको भनाई छ । प्रदेश १ प्रहरी कार्यालयमा कार्यरत ५ जना प्रहरी, विराट नर्सिङ्ग होमका सञ्चालक चिकित्सक लगायत हालसम्म विराटनगर महानगरभित्र ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

प्रदेश १ मा शनिबार सम्ममा ८ सय ९१ जनामा संक्रमण पुष्टि भएको र त्यसमध्ये ७ सय ३५ जना संक्रमण मुक्त भएर घर फर्किसकेका छन् । १ सय ५६ जना कोभिड १९ उपचार केन्द्रमा चिकित्सकको निगरानीमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । 

मोरङमा भने शनिबार सम्ममा २ सय २५ जनामा संक्रमण पुष्टि भएकोमा १ सय ८७ जना निको भएर घर फर्केका छन् भने ३८ जना चिकित्सकको निगरानीमा रहेका हुन् । यस प्रदेशमा शनिबार सम्ममा ३९ हजार १ सय १२ जनामा पिसिआर परीक्षण गरिएको छ । 


प्रतिक्रिया