चार दिनमै भरियो झापाको आइसोलेसन सेन्टर

झापाको भद्रपुरस्थित मेची अस्पतालको भवन । तस्बिर : अर्जुन/रेडियो कान्तिपुर  

श्रावण २२, २०७७ | बिर्तामोड

झापाको मेची अस्पतालमा निर्माण गरिएको कोभिड आइसोलेसन सेन्टर चार दिनमै भरिएको छ । २५ शैय्याको आइसोलेशन सेन्टर बिहीबार भरिएको हो । भद्रपुर नगरपालिकास्थित मेची अस्पतालको आइसोलेशन सेन्टरमा सोमबारदेखि कोरोना संक्रमितलाई राख्न थालिएको थियो । 

आइसोलेशन सेन्टरमा बेड खाली नभएपछि बिहीबार संक्रमण पुष्टि भएका मेचीनगर नगरपालिकाका ८ मध्ये २ जनालाई धाइजन स्वास्थ्य चौकीको क्वारेन्टिनमा राखिएको छ । मेचीमा निर्माण गरिएको आइसोलेशन जिल्लाको एक मात्र आइसोलेसन सेन्टर हो ।

स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईले भन्नुभयो, ‘मेचीको आइसोलेसन चार दिनमै भरियो । बेड अभावमा बिहीबार संक्रमण पुष्टि भएका मेचीनगरका ८ मध्ये २ जनालाई धाइजनको क्वारेन्टिनमा राखेका छौं ।’

उहाँले तत्काल थप आइसोलेसन सेन्टर निर्माण गर्नुपर्ने माग गर्नुभयो । ‘मेचीमै बेड संख्या थप गर्नुपर्‍यो कि त अर्को आइसोलेसन तत्काल बनाउनुपर्‍यो’ उहाँले भन्नुभयो, ‘भोलि (शुक्रबार) कोही संक्रमण पुष्टि कहाँ राख्ने भन्ने टुंगो छैन ।’ जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय ९१ पुगेको छ । ३४० जना उपचारपछि संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

मेची अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.पिताम्बर ठाकुरले भने मेचीमै आइसोलेनका लागि थप बेड राख्न सक्ने स्थान नभएको बताउनुभयो । जिल्लामा कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयले बाह्रदशी गाउँपालिका, बिर्तामोड, अर्जुनधारा र मेचीनगर नगरपालिकामा कोभिडको ‘मास स्क्रिनिङ’ सुरु गरेको छ । चम्लागाईका अनुसार जिल्लाका विभिन्न पालिकाबाट करीब ६ सय जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि विराटनगर र धरानको ल्याबमा पठाइएको छ । 


प्रतिक्रिया