युवाको असन्तोष थप सल्किनुपूर्व नै सम्बोधन गर

असार २, २०७७ | काठमाडौं

सरकार जवाफदेही नभएको निष्कर्ष सहित केही दिनयता युवाले दिनदिनै देशभर प्रदर्शन गर्दै आएका छन् । युवाको प्रदर्शनको नामै रहेको छ ‘अति भयो’ । कुनै दल विशेषको आह्वान बिना स्वतस्फूर्त ठूलो संख्यामा युवा जमात सडकमा ओलिएको बिरलै घटना मध्ये यो पनि दर्ज भएको छ ।

सडकमा ओर्लिएका युवामा सरकारको कामकारबाही प्रति चरम आक्रोश त देखिन्छ नै राजनीतिक दलका विद्यमान नेतृत्व पंक्तिबाट पनि उनीहरु निराश छन् । कोरोना कहरले मुलुक गिजोलिएका बेला उनीहरु सडकमा ओर्लिन किन बाध्य भए भन्ने प्रश्नको जवाफ कसैले दिन सकेका छैनन् । 

सरकारी पक्षले कोरोना संक्रमणको जाखिम बढाउने गरी युवा परिचालित विरोध प्रदर्शनलाई बेमौसमी बाजा भनेका छन् । तर, युवाको प्रदर्शन काठमाडौं हुँदै मुलुकभर सल्किसकेको छ । सरकारले कोरोना उपचारका सन्दर्भमा अपनाएको नीति र गरेको खर्चबारे युवाले सीधै प्रश्न उठाएका छन् । यसले चौतर्फी समर्थन बटुलेको छ ।

सडकमा युवासँगै नओर्लिए पनि उनीहरुले उठाएको मुद्दा र आवाजप्रति सिङ्गो समाजकै ध्यानाकर्षण भएको छ । निश्चित राजनीतिक एजेण्डा र कार्यदिशा नभएका असन्तुष्ट युवाको प्रदर्शनले कस्तो रुप लिन्छ यसै भन्न सकिन्न । 

कसैबाट नेतृत्व प्रदान नगरिएको प्रदर्शन समयक्रमसँगै सेलाएर जान पनि सक्छ । प्रदर्शनकारी प्रति सरकारको रवैया र उनीहरुले राखेका माग सम्बोधनमा सरकार कत्तिको संवेदनशील हुन्छ भन्ने कुरामा प्रदर्शनको आयु र स्वरुपमा निर्भर गर्छ । 

कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारी प्रयत्नहरु अपर्याप्त भईरहेको भन्ने आमअसन्तोषका बीच सल्किएको युवाको विरोध प्रदर्शनले डढेलोको रुप नलेला भन्न सकिन्न । असङ्गठित युवाको आन्दोलनमा अन्य शक्ति र राजनीतिक दलको प्रवेश भयो भने यो कतातिर अघि बढ्छ यसै भन्न मुस्किल छ ।

आन्दोलनकारीको प्रमुख माग तीन महिनामा खर्च भएको १० अर्बको हिसाब किताब सरकारले हालै जारी गरेर युवालाई संयमित हुन आग्रह गरिसकेको छ । तर, खर्चको विवरण सार्वजनिक गरेपनि कहाँ, कसरी र कति खर्च गरेको हो भन्ने स्पष्ट फेहरिस्त दिन सकेको छैन । 

लकडाउन लम्ब्याउने सरकारले समयमा आवश्यक तयारी नगरेका कारण कोरोना संक्रमणको समस्या भयाबह बन्दै गएको आम बुझाइ छ । त्यसैले पनि युवाको आन्दोलनमा समाजका अन्य तह र तप्काको पनि मौन समर्थन जस्तै छ ।

निरन्तरको लकडाउनले घरमै रहेका यवा किन सडकमा आए ? कोरोना संक्रमणको जोखिमलाई समेत बेवास्ता गरेर उनीहरु सरकारको बिरोधमा किन उत्रिए ? यसको जवाफ सापेक्षतामा खोज्नुको साटो सरकार समर्थितहरु संक्रमण फैलिए दोषको भागीदार को हुने ? भन्ने प्रश्नकै सेरोफेरोमा युवाको प्रदर्शनलाई घुमाउन खोज्दैछन् । 

लामो र विकल्प बिनाको लकडाउन, कोरोना रोकथाम र उपचारमा सरकारले देखाएको अक्षमता, बेरोजगारीले सिर्जना गर्ने र पुर्‍याउन सक्ने असुरक्षा जस्ता पक्ष मिसिएका कारण मध्यम वर्गका व्यक्तिको पनि प्रदर्शनमा नैतिक समर्थन देखिन्छ । यसमा कुनै न कुनै कारण सरकारले युवामा सिर्जना गरेको वितृष्णा पनि मिसिएपछि यसले आन्दोलनको रुप लिएको बुझ्न गाह्रो छैन । 

महामारीको प्रतिकार्यमा जुटेको सरकारले सबै ध्यान त्यसैमा केन्द्रित गरेको छु भनेर पन्छिन मिल्दैन । नतिजा सन्तोषजनक नदेखिएको प्रतिकार्यमा लाग्नुका साथै आगोको रुप लिन सक्ने युवाको प्रदर्शन रुपी झिल्कोलाई पनि सम्बोधन गर्नु जरुरी छ । 


प्रतिक्रिया