कांग्रेसमा नेतृत्वको क्षयीकरण

कार्तिक १७, २०७७ | काठमाडौं

नेतृत्व व्यक्तिले ओगट्ने पदमा हुन्छ कि उसले गर्ने कार्यसम्पादनमा ? यसबारे बहस गर्न सकिन्छ । तर, नेतृत्वमा स्थापितहरुले गरेका कार्यसम्पदानको असरबारे बुझ्न परे प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलाई हेरे पुग्छ । विगतको गर्विलो इतिहासलाई गएको संसदीय निर्वाचनमा धुलिसात पारेको कांग्रेसले त्यसयता प्राप्त अनेकन अवसरलाई पनि नेतृत्वको अकर्मण्डयताले ब्यूँत्याउन सकेन । 

इतिहासकै कमजोर प्रतिपक्षी पाएर पनि शक्तिशाली वाम सरकारले जनआकांक्षा पूरा गर्न नसक्दा आफ्नो शाख जोगाउन केही गर्नै नपर्ने अवस्थाको लाभ पनि कांग्रेसले लिन सकेन । जनताको उपेक्षामा परेको कांग्रेस उल्टै सरकारसँग अपेक्षा गर्नतिर लाग्यो । सत्तासित नियुक्तिको भागबण्डामा अंश खोज्न पल्केपछि प्रतिपक्षी धर्म निर्वाहबाट च्यूत हुनु अस्वभाविक हैन । 

अवस्था कतिसम्म टिठलाग्दो छ भने जनताले अबको पाँच वर्ष तिमी सत्ता बाहिरबाटै सरकारलाई खबरदारी गर भनेर सुम्पिएको जिम्मेवारीबोध पनि कांग्रेसको मूल नेतृत्वलाई अझै भएको छैन । संवैधानिक अंगहरुमा सरकारी छायाँ गाढा र निस्पट्ट छाउँदा समेत आफ्नो भाग पाएपछि नेपाली कांग्रेसले विरोध जनाउन सकेको छैन । 

सरकारले एकलौटी गर्‍यो भनेर आलोचना गरिरहँदा उसलाई एकलौटी हिँड्न छुट दिने प्रतिपक्षीको कार्यक्षमतामाथि पनि प्रश्न उठेको छ । विरोधका लागि विरोध जनाउन मात्रै बेलाबेला विज्ञप्ति निकाल्ने प्रतिप्रक्षीको मूल नेतृत्वले आफ्नै ओज बिर्सिंदाको परिणाम हो यो ।

कांग्रेस यतिखेर १४ औं महाधिवेशनको संघारमा छ । महाधिवेशनको मिति तोकिएसँगै पार्टीको नेतृत्वमा आकांक्षा राख्नेहरुको चर्चा मात्रै हनै वर्तमान नेतृत्व म्याद सकिएको औषधि सरह भएको भन्ने टिप्पणी पनि सुनिन थालेका छन् । 

यसअघि पनि शेरबहादुर देउवासँग कुनै न कुनै पदमा प्रतिद्वन्द्वीता साधेकाहरुले यसपटक पनि आफूलाई त्यसैमा उभ्याउनु स्वभाविक हो । तर, केन्द्रीय सदस्यमा दाबेदारी गर्न पनि ३ पटक सोच्न पर्नेहरु समेत अहिले सभापतिको प्रत्यासी भनेर प्रचारबाजी गर्दै हिँडेका छन् । यसले काँग्रेस नेतृत्वको दारुण अवस्था चित्रण गर्छ । जोकोहीले पनि ताक्न मिल्ने गरी कसरी नेतृत्व स्थापित भएको रहेछ र नेतृत्वकै कारण पार्टीको अवस्था कति सुधार भएछ भनेर बुझ्न यो जत्तिको राम्रो उदाहरण अर्को छैन । 

अहिले जत्तिको साँगठनिक र नैतिक रुपमा पार्टी कहिल्यै कमजोर नभएको र यस्तो अवस्था जोसुकै सभापति भएपनि नहुने ठहर सभापतिका आकांक्षीहरुमा पलाउनु भनेको कांग्रेसकै हितमा छैन । नेतृत्वको क्षयीकरण भएसी हुने भनेकै यस्तै हो । पछिल्लो समय भएको उपनिर्वाचनको नतिजालाई केलाउने हो भने पनि जनताले कांग्रेसको पक्षमा भन्दा पनि सरकारको विपक्षमा मत दिएका कुरा बिर्सन हुन्न । 

सत्तारुढ दलप्रतिको मोह बिस्तारै भंग भइरहेको अवस्थामा तिनलाई सम्बोधन गर्नका लागि पनि कांग्रेससँग न विचार छ न कुनै कार्यक्रम । लोकतन्त्र, विधिको शासन र मानव अधिकारप्रतिको कांग्रेसी प्रतिबद्धतामा कम्युनिष्ट नेताहरुले पनि संशय प्रकट गर्दैनन् । तर, राज्य सञ्चालनमा काँग्रेसको छवि उत्तिकै धुमिल छ । 

कम्युनिष्ट सरकारको सर्वसत्तावादी चरित्रको पर्दाफास र लोकतन्त्र, संविधान र संघीय प्रणालीको संरक्षणका लागि नेतृत्व लिऊ भनेर जनताले प्रतिपक्षीको रुपमा काँग्रेसलाई अतिरिक्त जनादेश दिएका हुन् । कांग्रेसको नेतृत्वले अझै यो अतिरिक्त जनादेशको मर्म बुझ्न सकेको छैन । 

प्रतिपक्षी भूमिकामा खुम्चिनु कांग्रेसका लागि उत्साहजनक हैन तर यसलाई सकारात्मक रुपमा ग्रहण गर्न पनि नेतृत्वका दूरदर्शिता चाहिन्छ । एउटै चुनावी परिणामबाट गर्विलो विरासत भएको पार्टीको जग हल्लिन पुग्नु भनेको नेतृत्वमा आएको क्षयीकरण भन्दा अर्थोक केही हैन ।

कांग्रेसको नेतृत्वपंक्ति यथास्थितिवादी सोचलाई त्यागेर रूपान्तरित, सुधारवादी र प्रगतिशील हुन जरुरी छ । कांग्रेसलाई प्राप्त पछिल्लो जनमत त्यसैको उपयुक्त र अन्तिम अवसर हो । तर, नेतृत्वको प्रवृत्ति, मनोवृत्ति र आवृत्तिलाई केलाउने हो भने सुधार र रूपान्तरण कांग्रेसका लागि फलामको च्युरा हो । 

अवसरहरू पटकपटक गुमाएकोमा पनि पश्चाताप नगर्ने एउटै पार्टी नै नेपाली कांग्रेस हो । झण्डै दुई तिहाईको सरकारबाट विरिक्तिएका जनतालाई आफ्नो नीति, कार्यक्रम, आचरण र व्यवहारले आकर्षित गर्न नसक्नु भनेको नितान्त कांग्रेस नेतृत्वकै कमजोरी हो ।

अमेरिकी बिजनेश टाइकुन जोन फ्रान्सिस वेल्च जुनियर भन्थे, ‘नेता हुनु अघि सफलता भनेको तपाईं आफूलाई कति अघि बढाउनुहुन्छ भन्ने नै हो । तर, नेता भइसकेपछि तपाईंले कतिलाई अघि बढाउनु भयो भन्नेले तपाईं सफलता हो ।’ कांग्रेसको हकमा आफू पनि अघि नबढ्ने र अर्काको बाटो पनि छेकिरहनु भनेको पनि नेतृत्वकै क्षयीकरणको कारक नै हो । 


प्रतिक्रिया