‘कोरोना संक्रमणको वास्तविक अवस्था पत्ता लगाउन गाह्रो’

मंसिर १७, २०७७ | काठमाडौं

काठमाण्डौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पछिल्लो समय पीसीआर परीक्षण गराउन जानेको संख्या ह्वात्तै घटेको छ । कुनै समय २७ सयसम्मको पीसीआर परीक्षण गरेको प्रयोगशालामा अहिले साढे २ सय देखि ३ सयको हाराहारीमा मानिसहरु पीसीआर परीक्षणका लागि पुग्ने गरेका छन् । व्यक्तिगत रुपमा परीक्षण गराउन जाँदा पैसा लाग्ने भएपछि पीसीआर गराउनेको संख्या पनि घटेको राष्ट्रिय परीक्षण प्रयोगशालाकी निर्देशक डा रुना झाको भनाई छ ।

काठमाण्डौं महानगरपालिका भित्रका प्रभावित क्षेत्रमा एन्टिजेन परीक्षणका लागि आह्वान गर्दा समेत सर्वसाधारणको खासै उपस्थिति नरहनुले कोरोना संक्रमण प्रति जनताको हेलचेक्राई प्रष्टिन्छ । जोखिम वर्गमा पर्ने, कोरोना संक्रमितको सम्पर्कमा रहेका व्यक्ति लगायतलाई परीक्षणका लागि बोलाए पनि एन्टिजेन पोजेटिभ आए विभिन्न समस्या झेल्नुपर्ने भन्दै सर्वसाधारण नआउने गरेको बुझाई सरकारको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय गठन गरेको सर्भिलेन्स केस इन्भेस्टिगेसन र कन्ट्याक्ट ट्रेसिङका सदस्य सचिव डा अरुण पोखरेलका अनुसार कोरोना संक्रमित भएपछि छरछिमेकबाट दुव्र्यवहार भोग्नु भन्दा घरमै बसेर निको पार्ने र आफूले नियमित काममा समेत बाधा नपुग्ने गलत सोचमा सर्वसाधारण छन् । 

पीसीआर परीक्षणको दायरा घटेपनि नेपालमा संक्रमणका कारण हुने मृत्युदरमा भने कमी आएको छैन । जाडो मौसम शुरु भइसकेकाले कतिपयले भने रुघाखोकी लाग्दा सामान्य रुघाखोकी सम्झेर घरमै बस्दा पनि धेरेैको ज्यान जाने गरेको चिकित्सकको भनाई छ । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन कन्ट्याक्ट ट्रेसिङ कम भएकाले पनि कोरोना संक्रमितको वास्तविक संख्या बाहिर नआएको बताउनुहुन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको तथ्यांक अनुसार ८ हजार ३ सय पीसीआर परीक्षण गर्दा १ हजार ४ सय ९० जनामा संक्रमण देखिएको छ । कात्तिक १६ गतेको तथ्यांक अनुसार १३ हजार २३ जनामा पीसीआर परीक्षण गर्दा २ हजार ८ सय २४ जनामा संक्रमण देखिएको थियो । तुलनात्मक रुपमा एक महिनाको यो अवधिमा संक्रमण दरमा कुनै कमी पाईन्न । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बासुदेव पाण्डे पीसीआर परीक्षण घटेको स्वीकार्नु हुन्छ ।

खु्कुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ भने झैं, संक्रमणको पीडा संक्रमित बाहेक अरुले उपयुक्त महसुस र वर्णन गर्न सक्दैनन् । संक्रमण मुक्त भएको लामो समयसम्म पनि शरिर दुख्ने, सास बढ्ने, कमजोरी लगायत समस्या ठिक नभएको उनीहरु बताउछन् । कोरोनालाई सामान्य रुपमा लिईरहँदा पनि नेपालमा संक्रमितको संख्या साढे २ लाख नजिक पुगिसकेको छ भने मृत्यु हुने समेत १५ सय बढी छन् । त्यस कारण कोरोना संक्रमणलाई सामान्य नठानी मिल्दोजुल्दो लक्षण देखिए पीसीआर परीक्षण गराउने र सक्दो सावधानी अपनाउनु नै वुद्धिमता हुनेछ । 


प्रतिक्रिया