प्रतिनिधिसभा विघटनबारे काँग्रेस : विरोध गर्ने तर नबोल्ने

पुस १३, २०७७ | काठमाडौं

पार्टीभित्र निर्णय गरेर काँग्रेसले प्रतिनिधिसभा भंग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय असंवैधानिक र अलोकतान्त्रिक भनेको हो । प्रधानमन्त्रीको सोही कदमको विरोधमा देशव्यापी रुपमा विरोध प्रदर्शन गर्ने निर्णय पनि केन्द्रीय कमिटि कै हो । 

तर, पार्टी सभापति शेरबहादुर देउवाले भक्तपुरमा आयोजित सभामा अदालतमा विचाराधीन मुद्दामा यो गर त्यो नगर भनेर काँग्रेसले नबोल्ने स्पष्ट पार्नुभयो । त्यसो त यसअघि उहाँ आफ्ना केन्द्रीय सदस्यहरुलाई प्रतिनिधिसभा पुन:स्थापनाका बारेमा नबोल्न निर्देशन दिएर आलोचित भइसक्नु भएको थियो । 

अदालतको निर्णय मान्ने पार्टी हो भने संसद भंग गर्ने प्रधानमन्त्रीको कदमलाई अलोकतान्त्रिक र असंवैधानिक के का आधारमा काँग्रेसले भन्यो त ? अदालतमा विचाराधीन मुद्दाका बारेमा यसो वा त्यसो नगर्ने भए केन्द्रीय कमिटीबाट निर्णय गराएर विरोधसभा कुन नैतिक बलमा काँग्रेसले आयोजना गर्‍यो त ? यसको जवाफ काँग्रेसजनले मात्रै हैन जनताले पनि देउवासँग माग्नु पर्ने भएको छ ।

लोकतान्त्रिक शासन व्यवस्थाको एउटा धरोहर जनप्रतिनिधिहरुको थलो संसद विघटनका बारेमा प्रखर रुपमा आवाज उठाउन सक्दैन भने काँग्रेसले आफूलाई लोकतन्त्रको पहरेदार भन्न छाडे हुन्छ । वा, लोकतन्त्र रक्षा हामीले मात्रै गर्न सक्छौं भन्ने डिङ हाँक्न छाडे हुन्छ । 

सरकार अलोकप्रिय भएको मौकामा चुनावको घोषणा भयो भन्दै केही बढी सिट जितिएला भन्दै र्‍याल काढ्दा लोकतन्त्रको चीरहरण भयो कि भएन भनेर काँग्रेसले सोच्न पर्छ कि पर्दैन ? संविधान, लोकतन्त्र र संघीयता नै धरापमा पर्ने संसद भंगको कुकृत्यलाई पनि चुनावी सिटसँग नापतौल गर्न छाडिएन भने यो पटक प्रतिपक्षीको कित्तामा हुत्तिएको काँग्रेस अर्को चुनावमा कहाँ पुग्ला अनुमान गर्न गाह्रो पर्छ ।

संविधानको व्याख्या गर्ने सर्वोच्च अदालत हो । तर, संविधान भन्दा माथि त अदालत पनि छैन । संविधानमा नभएको व्यवस्थालाई आधार बनाएर संसद भंग गर्ने निर्णय हुँदा त्यसो गर्नु न्याय र तर्कसंगत हैन भनेर बोल्दा अदालतको अवहेलना ठहर्दैन । अहिलेको प्रश्न भनेको अदालतको अवहेलना हुन्छ कि हुन्न भन्ने नै हैन । विधि र पद्दति मान्ने कि नमान्ने भन्ने हो । हुन त काँग्रेस सभापति देउवा विधि र पद्दतिमा उतिसारो विश्वास गरिहाल्ने व्यक्ति हैन । 

नयाँ र ताजा जनादेशमा जानका लागि प्रधानमन्त्रीले संसद भंग गराएको भनेर सोझो र एकाङ्की लख काटेर अहिले नै सत्ताको जोड घटाउमा लाग्नु भनेको मूर्खता मात्रै हो । छँदा खाँदाको झण्डै दुई तिहाईको बहुमत लत्याएर, पार्टी विभाजनमा पुर्‍याएर ओलीले चुनाव गराउँछन् र त्यही चुनावमा बहुमत ल्याएर वा काँग्रेसलाई ठूलो पार्टी बनाएर ज्योतिषले भविष्यवाणी गरेजस्तो प्रधानमन्त्री हुने देउवाको दिवा स्वप्न मात्रै हो । 

सिङ्गो पार्टी पंक्ति एक भएर संसद भंगविरुद्ध आवाज उठाउँदा पनि देउवा बोल्न सक्दैनन भने उनीबाट लोकतन्त्र त पर स्वयं काँग्रेसकै बेडा पार हुँदैन । राजनीति र कूटनीतिका ज्ञाता चाणक्य भन्थे– एकाकिना तपो द्वाभ्यां पठनं गायनं त्रिभि: ।

चतुर्भिर्गमनं क्षेत्रं पञ्चभिर्बहुभि: रण: । अर्थात् तपस्या एक्लैले, अध्ययन दुई जना मिलेर, संगीत तीन जनाले, बाटो हिँड्ने काम चार जनाले, खेतीको काम पाँच जनाले र लडाइँ धेरै मिलेर गर्दा राम्रो हुन्छ । स्वेच्छाचारिता, गैरलोकतान्त्रिक र अधिकनायकवाद विरुद्धको लडाइँमा देउवा एक्लै हिँड्छन् कि अरुसँगै त्यो अब हेर्न बाँकी छ ।  


प्रतिक्रिया