पृथ्वीनारायण, नेपाल एकीकरण र राष्ट्रिय एकता दिवस

पुस २७, २०७७ | काठमाडौं

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरे कि गोरखा राज्यको बिस्तार ? उनी नेपाल मुलुकका राष्ट्रनायक हुन् कि बलजफ्ती शासन हत्याउने एक सनकी राजा ? यस्ता प्रश्नको विवेचना एउटै कोण र सन्दर्भलाई आधार बनाएर गर्न सकिंदैन । 

झण्डै ३ सय वर्षअघिको भूराजनीतिक अवस्थामा खण्ड–खण्ड र स–साना राज्यमा बाँडिएका क्षेत्रलाई जितेरै एउटा विशाल राज्य निर्माण गर्ने सोच आफैंमा पनि एउटा धृष्टता थियो । त्यसैले उनले त्यतिबेलै भनेका थिए– ‘यो राज्य दुई ढुंगाबीचको तरुल हो ।’ उनको कूटनीतिक सुझबुझ र राष्ट्रप्रतिको प्रेम कति सपाट थियो भनिरहन पर्दैन ।

जबजब राष्ट्रियताको बारेमा नेपालमा बहस चल्छ तबतब पृथ्वीनारायण शाहको योगदानको पनि चर्चा हुने नै भयो । पृथ्वीनारायण शाह बिनाको वा उनलाई छुटाएर गरिएको राष्ट्रियताको विवचेना एकपाखे हुनजान्छ । जसले जे तर्क गरेपनि उनकै योजनामा नेपालले भौगोलिक रुपमा अहिलेको आकार लिन पाएको हो । त्यसैले उनलाई राज्य बिस्तार गर्ने वा एकीकरण गर्ने भन्दा पनि एकीकरणको खाका र योजना बनाउने योजनाकार भन्न सुहाउँछ भन्नेहरु पनि छन् । जस्तो दृष्टि उस्तै सृष्टि भनेझैं पृथ्वीनारायण शाह र उनको योगदानलाई पनि आ–आफ्नो ढंगबाट ब्याख्या र विश्लेषण हुनु स्वभाविक हो ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफ्नो निबन्ध के नेपाल सानो छ ? मा लेखेका छन्, ‘जति भए पनि आफ्नो मातृभूमि जस्तो ठूलो चिज दुनियाँमा केही हुँदैन । हाम्रो ह्दयको स्नेह सानो केन्द्रमा तीब्रता लिँदो रहेछ– जस्तो घामको स्वभाव छ । जति क्षेत्रफल बढायो, उति पतलाउनु प्रेमको प्रवृत्ति रहेछ जस्तो ख्याल हुन्छ । म विश्वप्रेम मातृभूमिका सिक्तछु, न कि विश्वमा ।’ 

यस्तै सानो भईकन पनि विशाल नेपालको परिकल्पनाकार हुन् पृथ्वीनारायण शाह । तर, हामीले सधैं के गर्दै आयौं भने पृथ्वीनारायणका सन्ततिका गुण र योग्यताको क्षयीकरणलाई उनको योगदानसँग तुलना गर्‍यौं । पृथ्वीनारायणको जस्तो गुण उनका वंशजमा नहनु भनेको पृथ्वीनारायणको दोष हैन ।

एउटा भनाइ छ– तपाईं इतिहाससँग विमति राख्न सक्नु हुन्छ । तर, त्यसलाई बदल्न सक्नु हुन्न । त्यसैले भनिएको हो इतिहास मेटेर मेटिन्न । पृथ्वीनारायण शाहको हकमा पनि त्यही लागू हुने हो । शाह वंशीय कुनै एक राजा मन परेन भन्दैमा नेपाल एकीकरण वा गोरखा राज्यको बिस्तारक पृथ्वीनारायण नभईदिएका भए अहिले हामी सार्वभौम मुलुकको स्वतन्त्र नागरिक भनेर गर्व गर्ने अवस्थामा हुन्थ्यौं कि हुन्थेनौं विवेचना गर्नै जरुरी छ ।

नेपाल एकीकरण मात्रै हैन आफ्नो शासनकालमा पृथ्वीनारायण शाहले दिएका दिव्योपदेशलाई राम्ररी अनुसरण गर्‍यौं भने पनि हामी अहिलेको अवस्थाबाट पार पाउन मद्दत मिल्छ । मुलुकको अर्थव्यवस्था, कूटनीति, सैन्य संरचना, प्रशासन लगायत सबैमा उनले व्यक्त गरेका विचारको सान्दर्भिकता अहिलेसम्म पनि उस्तै रहनुको अर्थ उनी सामान्य राजामात्रै थिएनन् भन्नका लागि पर्याप्त छ । 

‘मेरा साना दु:खले आज्र्याको मुलुक हैन यो’ उनको यही भनाइमा पनि अभूतपूर्व राष्ट्रप्रेम झल्किन्छ । साथै, राष्ट्र निर्माणमा योगदान पुर्‍याउनेको सम्झना । तर, व्यवस्था परिवर्तन भएपछि शुरु भएको निषेधको राजनीतिले ती सबै योगदानलाई सम्झना गराउने भौतिक संरचनामाथि प्रहार हुनु र कतिको त अस्तित्व नै नामेट हुनु दुखद हो । किनभने वर्तमान पनि कुनै दिन इतिहास हुन्छ र इतिहासको विवेचना आज भविष्य मानिएको भोलिको वर्तमानले गर्ने हो ।

इतिहासलाई शासकले आफू अनुकूल बङ्ग्याउन सक्लान् तर पूरै पुर्नलेखन गर्न सक्दैनन् । त्यसैले अहिले नै पृथ्वीनारायण शाहलाई देवत्वकरण र दानवीकरण गर्न छाडेर भविष्यलाई उनको योगदानको समीक्षा गर्ने अभिभारा सुम्पिनु नै उचित हुन्छ । पृथ्वीनारायण शाहले भनेझैं ‘प्रजा मोटा भया दरबार बलियो रहन्छ’ नकि दरबार बलियो भएर प्रजा मोटा हुने हो । यति कुरालाई मनन मात्रै गर्न सकियो भने पनि राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्तीको सान्दर्भिकताका बारेमा थप बहस गर्नै पर्दैन । 


प्रतिक्रिया